काठमाडौं- सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछाने ५ दिन थुनामा रहने भएका छन्।
जिल्ला अदालत चितवनले लामिछानेलाई हिजो (बिहीबार) बाट लागू हुनेगरी थप अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो।
उनी मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका थिए। पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेको नाम समेत लिएका थिए। सोही भिडियोका आधारमा पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार लामिछाने, अर्का पत्रकार युवराज कँडेल तथा नर्स अस्मिता कार्कीलाई काठमाडौबाट पक्राउ गरी चितवन लगेको थियो।
लामिछाने न्युज २४ टेलिभिजनको कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता हुन भने कँडेल पनि सोही कार्यक्रमसँग आवद्ध पत्रकार हुन्। उनीहरुलाई तीनै जनालाई शुक्रबार बिहान १ बजे चितवन लगिएको थियो।
शुक्रबार अदालत हाजिर गराइएका तीनै जनालाई जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको एकल इजलाशले ५ दिन थुनामा राखी अनुसन्धान कार्य अगाडि बढाउन अनुमति दिएको हो। रविसँगै युवराज र अस्मितालाई समेत अनुसन्धानको लागि बिहीबारबाटै लागू हुनेगरी ५ दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए।
जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने रविलगायतको पक्षबाट अधिवक्ता सुनिल कुमार पोखरेलसहितले बहस गरेका थिए।
अदालतमा बहस चलिरहँदा बाहिर रविका समर्थकहरुले 'रवि निर्दोष रहेको र उनलाई फसाउन लागिएको' भन्दै नाराबाजी गर्दै रविलाई रिहा गर्न माग गरेका थिए। सर्मथकहरुले जिल्ला प्रहरी कार्यालयको मुल गेट अगाडि जम्मा भएर नाराबाजी गर्न थालेपछि प्रहरीले पछाडिको बाटो प्रयोग गर्दै रविसहित तीनै जनालाई सरकारी वकिलको कार्यालय र अदालत लगेको थियो।
त्यस्तै, अदालतबाट जिल्ला प्रहरी कार्यालय ल्याउन पनि प्रहरीले समर्थकहरुको आँखा छल्दै भित्री बाटो प्रयोग गर्नु परेको थियो। सर्मथकहरु दिनभरजसो जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको मुल गेटअगाडि नाराबाजी गर्दै बसेका थिए।
मृतक पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आफ्नो मृत्युको दोषी बताएका थिए।
चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।