काठमाडौं (एजेन्सी)– सन् २०१६ को टि–२० विश्वकपमा दोस्रो सर्वाधिक विकेट लिने बलर बनेपछि अफगानिस्तानका राशिद खान सबैको नजरमा परेका थिए। त्यतिबेला उनी १७ वर्षका मात्र थिए। र, उनलाई गृहयुद्धमा धकेलिएको देशको वस्तुस्थितीका कारण आफ्नो भविष्यलाई लिएर खासै ठूलो अपेक्षा पनि थिएन्।
तर, भारतमा भएको त्यो विश्वकपमा उनको बलिङको जादु इन्डियन प्रिमियर लिग (आइपिएल) का टिमहरूले प्रत्यक्ष अनुभव गरे। र, उनलाई गत वर्षको आइपिएलमा ४ करोड भारतीय रुपैयाँ खर्चिदै युवराज सिंह, डेभिड वार्नर, केन विलियम्सन र शिखर धवनजस्ता हस्ति समावेश सनराइजर्स हैदराबादले खरिद गर्यो।
यसपछि अफगानिस्तानमा उनको नाम नै स्थापित भयो– फुच्चे करोडपति। राशिदले २०१६ को आइपिएलमा आफूलाई ४ करोड लगानी गर्ने सनराइजर्स हैदराबादलाई पनि निरास पारेनन्। उनले ७ खेलमा ११ विकेट लिँदै आफूलाई प्रमाणित गरेका थिए।
शनिवार एघारौं संस्करणका लागि भएको आइपिएल अक्सनमा सनराइजर्स हैदराबादले नै मूल्य बढाएको छ। उनका लागि हैदराबादले यसपालि ९ करोड भारु खर्चेको छ। उनी विश्वका १० महारथ टेस्ट राष्ट्रका थुप्रै स्टार खेलाडीको तुलनामा महंगो रकममा खरिद हुने प्रतिभाशाली खेलाडी बन्न पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।