काठमाडौं – वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले क्रिकेटबाट आफू अहिले नै नटाढिने बताएका छन्। भारतसँगको एकदिवसीय सिरिजको अन्तिम खेल गेलको एकदिवसीयकै अन्तिम खेल भन्ने चर्चा चलिरहँदा उनले आफूले सन्यास लिने नसोचेको बताएका हुन्।
पहिलो खेल बर्षाले प्रभावित भएको सिरिजको दुई खेल भारतले जित्यो। वर्षाले प्रभावित भएको दोस्रो खेलमा भारत ५९ रनले विजयी भएको थियो। बर्षाकै कारण प्रभावित तेस्रो तथा अन्तिम एकदिवसीय पनि भारतले ६ विकेटले जितेको हो।
भारतसँगको अन्तिम खेलमा गेलले ‘३०१’ नम्बरको जर्सी लगाएका थिए। जुन उनको ३०१ औँ अन्तर्राष्ट्रिय एकदिवसीय पनि हो। जुन वेस्ट इन्डिजका खेलाडीले खेलेको सबैभन्दा धेरै एकदिवसीय खेलको कीर्तिमान पनि हो।
सिरिजको पहिलो दुई खेलमा खासै चल्न नसकेका गेलले तेस्रो एकदिवसीयमा भने ‘गेल स्टाइल’ कै खेल देखाए। ४१ बल खेलेका उनले ५ छक्का र ८ चौकाको मद्धतमा ७२ रन बनाएका थिए।
पहिलो विकेटका लागि नै इभिन लेभिससँग गेलको ११५ रनको साझेदारी भएपछि वेस्ट इन्डिजले वर्षाले प्रभावित भएर ३५ ओभरमा झारिएको खेलमा २५५ रनको लक्ष्य दिएको थियो।
गेल आउट भएर मैदानबाट बाहिरिने क्रममा भारतीय खेलाडीले समेत सम्मान स्वरुप तालि बजाएका थिए। गेलले तुरुन्तै आफ्नो ब्याट उठाए। आफ्नै स्टाइलमा उनको मैदान बाहिर जाने शैलीमा दर्शकले पनि सम्मान स्वरुप हुटिङ गरिरहेका थिए, गेलले ब्याटमा हेलमेट हालेर माथि उठाए, सबैको ध्यान गेलले एकदिवसीयका लागि मैदानमा अन्तिम पटक हिँडिरेहका छन् भनेजस्तो नै थियो।
तर खेलपछि गेलले त्यो सन्यासको माहोल चिर्दै भने – ‘मैले कुनै सन्यासको घोषणा गरेको छैन, केही हुँदा फेरि जानकारी भइनै हाल्ने छ।’
‘मलाई जहाँसम्म लाग्छ गेलले सन्यास लिएका होइनन्’ वेस्ट इन्डिज कप्तान ज्यासन होल्डरले पनि भनेका छन्, ‘आजको खेल उनको खेल जीवनको उत्कृष्ट दिनको एउटा उदाहरण भने भएको छ। उनको खेल उत्कृष्ट रह्यो।’
यो सबैबारे बेखबर रहेका भारतीय कप्तान विराट कोहलीले भने गेलको अन्तिम खेलजसरी नै उनलाई बधाई दिएका थिए। लामो समय इन्डियन प्रिमियर लिगमा एउटै टिमबाट खेलेका गेललाई उनले भने, ‘वेस्ट इन्डिजका लागि क्रिकेटमा यतिका वर्ष राम्रो खेलेका गेललाई बधाई दिन चाहन्छु। उनले वेस्ट इन्डिज क्रिकेटका लागि ठूलो काम गरेका छन्। उनी विश्व क्रिकेटका नै एक आइकन हुन्।’
सिरिजमा लगातार दुई शतक बनाएर प्लेयर अफ दि सिरिजसमेत बनेका कोहलीले अगाडि भने, ‘गेल मान्छे पनि निकै असल छन्, त्यो नै उनको उत्कृष्ट गुण हो। उनको क्रिकेटको बारेमा त सबैलाई थाहा छ, उनी नयाँ खेलाडीलाई पनि असाध्यै मद्धत गर्छन्, रमाइलो गर्छन र हाँसिरहेका हुन्छन्, असाध्यै प्रेसरको अवस्थामा पनि हाँसिरहन सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।