काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय स्वतन्त्रता दिवसको अवसरमा बोल्दै कस्मीर विवादमा आफ्नो निर्णयको बचाउ गरेका छन्।
नयाँ दिल्लीको लाल किल्लाबाट देशवाशीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कश्मीरको विशेषाधिकार प्रदान गरिएको संविधानको धारा ३७० हटाएर सरकार बल्लवभाई पटेलको सपना आफूले पूरा गरेको दाबी गरे।
७३औं स्वतन्त्रता दिवसको अवसरमा भारतको झन्डोत्तोलनपछि उनले करिब डेढ घन्टा सम्बोधन गरे। सम्बोधनका क्रममा उनले अधिकतम समय काश्मीर विवादमा खर्चिए। उनले धारा ३७० हटाएर सरदार पटेलको सपना साकार गर्नु महत्वपुर्ण कदम भएको धारणा राखे। उनले ७० वर्षसम्म भारी बहुमत हुँदा काश्मीरलाई भारतको हिस्सा बनाउन किन सम्भव भएन भन्दै उल्टै आलोचना गर्नेहरुमाथि प्रश्न तेर्स्याए।
प्रधानमन्त्री मोदीले भाषणमा आफ्नो दोस्रो कार्यकालमा उल्लेख्य कामको सुरुवात भएको दाबी गरे। तीन तलाकको कानुन बनाउने, किसानलाई राहत दिने र देशलाई आर्थिकरुपमा सबल बनाउने काम सरकारले थालनी गरेको उनको भनाइ छ। उनले देशमा बढ्दै गएको खानेपानीको समस्यामा काम गर्ने घोषणासमेत गरे। हर घरमा पानीको अभाव हुँदै गएको कुरा बुझेर सरकारले हर घरमा पिउने पानी ल्याउने संकल्प गरे।
उनले आतंकसँग जोडिएका कानुनहरुको परिर्वतन गरेर बलियो बनाएको जिकिर गरे। किसानका लागि ९० हजार करोड भारतीय रुपैयाँको फन्ड निर्माण गरी योजना सञ्चालनमा ल्याइएको र २१औं शताब्दीको भारतको खाका कोर्ने काम आफ्नो सरकारले पूरा गरेको दाबी उनले गरे।
उनले कश्मीर घाँटीको बारेमा अब नयाँ तरिकाबाट सोच्न जरुरी भएको धारणा राखे। जम्मू-काश्मीर र लद्दाखका नागरिकको सपना पूरा हुनुपर्ने भन्दै उनले त्यो सरकारको दायित्व भएको टिप्पणी गरे।
बुधबारमात्र आफ्नो स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले काश्मीरका सम्बन्धमा आफू चुप लागेर नबस्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।