काठमाडौं– थ्रीस्टार क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लबलाई १–० गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो।
थ्रीस्टारको जितमा बुद्ध चेमजोङले निर्णायक गोल गरे। उनले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्दा थ्री स्टारले डेढ वर्षपछि घरेलु फुटबलमा उपाधि उचालेको हो।
गत वर्ष अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीका कारणले थ्रीस्टार एएफसी कप खेल्नबाट बन्चित भएको थियो। त्यसयता थ्रीस्टारले क्षतिपूर्तिको माग गर्दै फुटबल नखेल्ने घोषणा गरेको थियो। एन्फासँग सहमतिपछि थ्रीस्टार यहि महिना भएको सूदूरपश्चिम खप्तड गोल्डकपबाट फुटबलमा फर्किएको थियो।
उपाधिसँगै थ्रीस्टारले १२ लाख नगद, २.५ तोला र ८० तोला चाँदिबाट निर्मित ट्रफि प्रदान पाएको छ। उपविजेता मनाङले नगद ५ लाख पायो।
इटहरीको पुरानो क्लब राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगतिामा ८ क्लबले सहभागिता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।