काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो रोजाइका गोलकिपर किरणकुमार लिम्बु (चेमजोङ) भारतको पहिलो डिभिजनको लिग आई–लिगमा डेब्यू गरेका छन्। किरणले शनिबार नेरोका एफसी विरुद्धको खेलमा मिनेर्भा पञ्जाव एफसीबाट खेल्दै आई–लिगमा डेब्यू गरेका हुन्।
किरणले डेब्यू गरेको खेलमा पञ्जावले नेरोकालाई १–० गोलले पराजित गर्यो। पञ्जावको जितमा भुटानी खेलाडी चेन्चोले दोस्रो मिनेटमा गरेका थिए। जितसँगै पञ्जावले लिगमा ४ अंकको अग्रता लिएको छ। पञ्जावले १० खेलबाट २५ अंक बटुलेको छ। दोस्रो स्थानको नेरोकाले २ खेल बढी खेल्दै २१ अंक बटुलेको छ। आई–लिग अन्तर्गत पञ्जावले आगामी मंगलबार इस्ट बंगालसँग खेल्दैछ।
डेब्यू खेलमा 'क्लिनसिट' राख्न सफल किरणले ३१ नम्बरको जर्सी लगाएर मैदान उत्रिएका थिए। गत मंगलबार पञ्जावमा आवद्ध हुँदै किरणले व्यावसायिक करिअरमा फड्को मारेका थिए।
गत सिजन माल्दिभ्सको टिसी स्पोट्सबाट लिग खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। टिसी स्पोट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा गत सिजन दोस्रो स्थान हात पारेको थियो। त्यसअघि २७ वर्षीया किरणले सन् २०१६ मा मनाङ मस्याङ्दीबाट खेलेका खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्री स्टार क्लबबाट खेले। त्यसक्रममा उनले थ्री स्टारलाई लिगसहित दर्जनौ घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।
नेपाली राष्ट्रिय फुटबल टिममा २००८ मा डेब्यु गरेका किरण सन् २०१० देखि नेपाली टिमको नम्बर एक गोलकिपर हुन्। धनकुटाका स्थायी बासिन्दा उनले राष्ट्रिय टिमबाट ५० खेल पूरा गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।