राजविराज– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले आफूहरुलाई सडकमा पुर्याएको भन्दै सडकबाटै हिन्दुराष्ट्र स्थापनाका लागि संघर्ष गर्ने बताएका छन्।
दोस्रो संविधानसभा निर्वाचनमा २५ सिट जितेको पार्टी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बढारिएपछि थापाको यस्तो अभिव्यक्ति आएको हो। राप्रपाले प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ सिट जितेको थियो।
सरकारमा उपप्रधान र ऊर्जा मन्त्री समेत रहेका थापा संगठन विस्तार तथा आफू मातहत रहेको मन्त्रालयका योजनाको अनुगमन गर्ने क्रममा शनिबार राजविराज आइपुगेका हुन्।
हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डा बोकेको पार्टी धर्मनिरपेक्षता सहितको गणतान्त्रिक संविधानलाई स्विकारेर पटक–पटक सरकारमा जाँदा जनतालाई पाच्य नभएको उनले स्विकारे।
अध्यक्ष थापाले आलोचनासहित संविधानमा सहकार्य गर्ने पार्टी नीति नबुझ्दा जनताले आफ्नो पार्टीलाई सडकमा पुर्याएको बताए।
‘अब हामी जनताले निर्धारण गरेकै स्थानबाट हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेन्डा स्थापनाका लागि क्रियाशील हुन्छौं’, उनले भने।
पार्टीको नीति नबुझेर जनताले भोट नदिनुलाई विचार र सिद्धान्त अस्वीकार्य भएको भन्नु गलत हुने भन्दै उनले जनता अहिले पनि धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रकै पक्षमा रहेको दाबी गरे।
‘जनता धार्मिक अतिवादको पक्षमा छैनन्’, उनले भने, ‘जनताको चाहना धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र नै हो।’
प्रतिनिधि र प्रदेश सभाको चुनावी परिणामले पार्टीको सैद्धान्तिक र नीतिगत परिवर्तनको आवश्यकता देखाएको भन्दै उनले थपे, ‘हाम्रो मुद्दाको उपादेयता घटेको छैन, भूराजनीतिक अवस्थाले हामीलाई फेरि राष्ट्रिय राजनीतिको अगाडि ल्याउँछ।’
निर्वाचनपूर्व पार्टी विभाजन, सहकार्य गरेको पार्टी नेपाली कांग्रेस इमानदार नहुनु र आवश्यकता अनुसार उम्मेदवारी दिन नसक्नु राप्रपाका लागि घातक भएको भन्दै उनले भने, ‘प्रतिनिधिसभातर्फ १६० र प्रदेश सभातर्फ ३२० ठाउँमा उम्मेदवारी दिन नसक्नु ठूलो त्रुटि भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।