नयाँ दिल्ली- पूर्व आइएएस (इन्डियन एडमिनिस्ट्रेटिभ सर्भिस) अधिकारी तथा जम्मू-काश्मीर पिपुल्स मुभमेन्टका अध्यक्ष शाह फैसल नयाँ दिल्लीमा पक्राउ परेका छन्। बुधबार उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा लिइएको थियो।
त्यसपछि श्रीनगर पठाइएका उनलालाई जम्मू-काश्मीर जन सुरक्षा अधिनियम (पिएसए) अन्तर्गतको हिरासतमा राखिएको छ।
उनी टर्कीको इस्तानबुल जानका लागि नयाँ दिल्ली पुगेका थिए।
१९७८ मा लागू भएको जम्मू-काश्मीर पिएसए कानुन अनुसार कुनै पनि व्यक्ति पक्राउपछि ३ देखि ६ महिनासम्म हिरासतमा लिन सकिने व्यवस्था छ।
भारतले जम्मू-कश्मीरलाई विशेष अधिकार दिएको संविधानको धारा ३७० खारेज गरेपछि फैसलले सरकारको आलोचना गर्दै आएका थिए। उक्त धारा खारेजीले एक भयावह मोड सुरु भएको उनले बताएका थिए। 'हाम्रो पहिचान, इतिहास, जमिनका लागि हाम्रो अधिकारको अन्त्य भएको छ,' उनले भनेका थिए, 'अगस्ट ५ देखि आक्रोशको नयाँ रुप सुरु भएको छ।'
२००९ मा आइएएसको परीक्षामा उच्च स्थान हासिल गरेका फैसल पहिले काश्मीरी थिए। उनले यही वर्षको सुरुमा आफ्नो पदबाट राजीनामा दिई मुलधारको राजनीतिमा सामेल हुन जम्मू-काश्मीर पिपुल्स मुभमेन्ट पार्टीको स्थापना गरेका थिए।
जम्मु-कश्मीरको विशेषाधिकार रहेको धारा ३७० हटाइएपछि अहिले काश्मीरमा मोबाइल फोन तथा इन्टरनेट बन्द छ। काश्मीरीहरु तनावमा छन्।
प्रहरीका अनुसार पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबूबा मुफ्तीसहित करिब ४ सय नेता गिरफ्तार भएका छन्। यद्यपि जम्मूको कर्फ्यु पूर्ण रुपमा आज हटे पनि काश्मीरको केही भागमा यो जारी नै छ। द वायरबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।