काठमाडौं– राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेसँगै दलहरु प्रादेशिक सरकार गठनमा केन्द्रित भएका छन्। राष्ट्रियसभा निर्वाचनले संघीय सरकार बन्न समय लाग्ने भएपछि प्रादेशिक सरकार गठनको तयारीमा दलहरुको सक्रियता बढेको हो।
गठबन्धन निर्माण गरेर चुनावमा होमिएका वामपन्थी र मधेसकेन्द्रित दलले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलतासमेत हात पारे। २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशमा सुविधाजनक बहुमत प्राप्त गरेका वाम गठबन्धनले मुख्य मन्त्रीको बाँडफाँट अन्तिम चरणमा पुर्याएका छन्। प्रदेश २ मा बहुमत प्राप्त गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले भने चुनावी गठबन्धनलाई कायम गर्दै प्रदेश सरकार गठनको तयारी सुरु गरेका छन्।
प्रदेश सरकार गठन र अन्य पदको बाँडफाँट गर्न दुवै पार्टीको संसदीय दलको बैठक बस्ने तयारी भएको नेताहरुले बताएका छन्। सपथ ग्रहणपछि प्रदेश २ को संसद अधिवेशन माघ २१ गतेका लागि बोलाइएको छ। प्रदेशसभाको बैठक सुरु भएलगत्तै प्रदेश सरकार गठनको एजेण्डाले प्रवेश पाउनेछ। सोही कारण मधेसकेन्द्रित दुवै दलले मुख्यमन्त्री लगायत महत्वपूर्ण पदको बाँडफाँट गर्न आन्तरिक गृहकार्य सुरु गरेका छन्।
गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्नुअघि पहिलो हुने दलले मुख्यमन्त्रीमा दाबी गर्ने र दोस्रो दलले सभामुख पाउने दुवै दलले समझदारी गरेका थिए। संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सोही समझदारी अनुसार पदीय बाँडफाँटको गृहकार्य सुरु हुने बताए। ‘राष्ट्रियसभा निर्वाचनको तयारीमा लाग्दा प्रदेश सरकार निमार्णमा ध्यान दिन पाएनौं,’ नेता यादवले नेपाल लाइभसँग भने, ‘कसले के पाउने लगभग तय छ, सोही अनुसार अघि बढिनेछ।’
प्रदेशसभा निर्वाचनमा प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालले २९ सिटमा र फोरमसँग गठबन्धन निर्माण गरेर चुनाव लडेको राजपा २५ सिटमा विजयी भएको थियो।
समझदारी अनुसार २ नम्बर प्रदेशको सबैभन्दा ठूलो दल फोरमले प्रदेशको मुख्यमन्त्री पाउनेछ। त्यस्तै राजपाले सभामुख पदमा दाबी गर्नेछ। उपसभामुख, मन्त्रीहरुको भागबण्डामा भने दुवै दल बसेर टुंगो लगाउने यादवले बताए।
राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादव प्रदेश सरकार गठनमा अनौपचारिक रुपमा छलफल भइरहे पनि पदीय बाँडफाँटको विषयले दलभित्र प्रवेश नपाएको बताउँछन्। ‘अनौपचारिक रुपमा संवाद प्रक्रिया चलिरहेको छ,’ यादवले भने, ‘फोरमको औपचारिक बैठक बस्दैछ। हामी पनि भोलि संसदीय दलको बैठक बस्छौं र यस विषयमा आवश्यक निर्णय गर्नेछौं।’
संविधान संशोधनको माग गर्दै लामो समय आन्दोलन गरेका मधेसकेन्द्रित दलले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा २ नम्बर प्रदेशमा राम्रो नतिजा निकालेका थिए।
संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक भए प्रदेश मात्र नभएर संघीय सरकारमा समेत सहभागी हुने इच्छा मधेसकेन्द्रित दलले देखाइरहेका छन्। संविधान संशोधनमा सहमति बन्न नसक्दा फोरम र राजपाले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग मिलेर चुनाव लड्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।