इंग्ल्याण्ड- चिलीका फरवार्ड एलेक्सिस सान्चेजले २ गोल गर्न साथ दिएपछि एफए कपको चौथोँ चरणको खेलमा म्यान्चेस्टर युनाइटेडले योभिल टाउनमाथि सहज जित निकालेको छ। योभिल मैदान हुइस पार्कमा भएको खेलमा बलका लागि संघर्ष गरिरहेको घरेलु टोलीलाई युनाइटेडले ४–० ले पराजित गरेको हो।
गत सोमबार मात्रै अर्मेनियाका हेनरिकसँग ‘स्वाप डिल’मा आर्सनलबाट युनाइटेड प्रवेश गरेका सान्चेजले फराकिलो जीतमार्फत आफ्नो युनाइटेड यात्रा सुरु गरेका हुन्। २७ वर्षिय सान्चेजले म्यान्युका लागि पहिलो हाफको ४१ मिनेटमा मार्कस रासफोर्ड तथा दोस्रो हाफको ६१ मिनेटमा एन्डर हरेराले गरेको गोलमा पास मिलाएका थिए। सान्चेज ७२ मिनेटमा सब्स्टीच्युट भएपछि पनि टोलीले आफ्नो लय कायम राख्यो।

खेल अवधिभर निरिह देखिएको योभिलको गोल पोष्टमा जेसी लिंगार्ड र रोमेलु लुकाकुले खेलको अन्तिम ४ मिनेटमा २ गोल छिराए। इन्जुरी समयको अन्तिम मिनेटमा लुकाकुले हानेको भली सटले गोल पोष्टको दिशा लिएपछि म्यान्युको ४–० को जीत म्यानेजर जोस माउरिन्होको ५५औँ जन्मदिन तथा १ सयौँ खेलको लागि उपहार बन्यो।
पोर्चुगिज म्यानेजर माउरिन्होले गत बिहिबार मात्रै सन् २०२० सम्म ओल्ड ट्राफोर्ड क्लवमा रहने सम्झौता नविकरण गरेका छन्। माउरिन्होको प्रशिक्षणमा हालसम्म खेलेका १ सय खेलमा म्यान्यु ६२ खेलमा विजयी भएको छ।

एफए कपमा गएराति भएको अर्को खेलमा रिडिङमाथि सेफिल्ड वेडनस्डेले ३–१ को जित दर्ता गरेको छ। प्रतियोगितामा चौथोँ चरणअन्तर्गत नै आज १२ खेलहरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।