काठमाडौं– पूर्वसांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेलले जेलबाटै ‘अदालतको अवहेलना सम्बन्धी मुद्दा’को लिखित जवाफ पठाउँदै आफूलाई फसाइएको दाबी गरेका छन्।
आफू राजनीतिक अभियन्ता भएको दाबी गर्दै ढुंगेलले ‘बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा भएको’ टिप्पणी गरेका छन्। ढुंगेलले जेलबाट बाहिर निस्केपछि यसको प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन्।
ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतको आदेशमा डिल्लीबजारस्थित कारागारमा सर्वस्वसहित जन्मकैद कटाइरहेका छन्। कात्तिक १४ गते नेपाल प्रहरीको सिआईबी टोलीले उनलाई पक्राउ गरेको थियो।
अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर अदालतको अवहेलना मुद्दा सम्बन्धी मुद्दाको कारागारबाटै ढुंगेलले लिखित जवाफ पेश गर्दै चेतावनी दिएका हुन्।
ढुंगेलले अदालत, मिडिया तथा मानव अधिकारकर्मी आफूप्रति पूर्वाग्रही बनेको आरोप लगाएका छन्।
ढुंगेलले श्रेष्ठको हत्यामा आफू संलग्न नभएको दाबी पनि गरेका छन्। ‘मृतक भनिएको व्यक्तिको शव नै फेला परेको छैन, लाश नभेटिएको कुरा जाहेरीमा तथा अभियोग पत्रमा समेत उल्लेख गरिएको छ’, उनको जवाफमा भनिएको छ, ‘मारिएको भनिएको व्यक्तिको शव नै फेला नपरेको भनी स्वयं जाहेरवाला र अभियोजनकर्ताले नै स्वीकार गरिरहेको अवस्थामा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) बमोजिम कसुरदार कायम हुन सक्दैन।’
तर यो मुद्दामा शव नै फेला नपरेको भए पनि आफूलाई सर्वस्वसहित जन्म कैदको सजायको गलत फैसला भएको दाबी गरेका छन्।
ढुंगेलले द्वन्द्वकालीन मुद्दालाई सत्य निरूपण तथा मेलमिलाप आयोगले टुंगो लगाउने विस्तृत शान्ति सम्झौतामा उल्लेख भए पनि त्यसको विपरित फैसला भएको दाबी सर्वोचचलाई बुझाएको लिखित जवाफमा गरेका छन्। ‘कथित मानवअधिकारको नाममा सडकमा मानव अधिकारको ढोल पिटेर नाटकीय रूपमा रुवावासी चलाएको भरमा तथा केही प्रकाशन गृहले योजनाबद्ध ढंगले सूचनाको स्रोत, अध्ययन र आधारबिना पीत पत्रकारिताको रूपमा नियोजित तरिकाले समाचार सम्प्रेषण गरेका छन्’, जवाफमा भनिएको छ, ‘न्यायालय प्रभावित भई फैसला गरेको छ।’
आफू उक्त दिन घटनास्थलमा नभई पसलेको ऋण तिर्न गएको र सो दिन पसलेकै घरमा बसेकाले घटनामा आफ्नो संलग्नता नभएको दाबी उनले गरेका छन्। जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत समक्ष मुद्दामा सहभागी भएका उनी सर्वोच्च सउपस्थित हुन भने अस्वीकार गरेका थिए।
हेर्नुहोस् ढुंगेलको लिखित जवाफ







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।