नयाँ दिल्ली- गत वर्षबाट नयाँ ट्याक्स व्यवस्था (जिएसटी) लागू भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले पहिलो पटक संसदमा बजेट पेश गर्दैछ।
वर्ष २०१७ को सेप्टेम्बरबाटै बजेटको तयारी थालेका अर्थमन्त्री अरुण जेट्लीले अन्ततः मात्र ५ दिनपछि अर्थात् फेब्रुअरी १ का दिन संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। आगामी वर्ष भारतमा हुने लोकसभा निर्वाचनअघिको अन्तिम बजेट हुने भएकोले यो बजेट मोदी सरकारको पनि अन्तिम बजेट हुनेछ।
भारतीय लोकसभामा बिहीबार बिहान ११ बजे बजेट पेश गर्नुअघि राष्ट्रपतिबाट स्वीकृति लिनुपर्ने हुन्छ। त्यसपछि केन्द्रीय मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि मात्रै दुवै सदनमा बजेटको ब्रिफकेश खोल्ने प्रावधान छ।
विविध प्रक्रिया र तयारीका लागि लामो समय पार गर्दै भारतीय लोकसभामा प्रस्तुत हुने बजेटका केही ऐतिहासिक तथा रोचक तथ्य हामी तपाईंलाई पस्कँदैछौं।
पहिलो बजेट पेश गर्ने व्यक्ति कुनै समय टोपी बेच्थे
बजेट भन्ने शब्द प्रचलनमा आएको ठिक एक सय वर्षपछि भारतको पहिलो बजेट ब्रिटिस सरकारका तर्फबाट प्रस्तुत भएको थियो।
सन् १८६० फेब्रुअरी १८ का दिन जेम्स विल्सनले भारतीय इतिहासमै पहिलो पटक सो अभिभारा लिएका थिए। त्यसबेला विल्सन ब्रिटिस सरकारको तर्फबाट बनाइएको इन्डिया काउन्सिलका वित्तीय सदस्य थिए।
रोचक कुरा त के छ भने वित्तीय सदस्यको पदीय मर्यादा निभाउँदै भारत सरकारका लागि पहिलो पटक जसले बजेट प्रस्तुत गरे, उनै जेम्स विल्सन कुनै समय टोपी बेच्ने काम गर्थे। यो काम विल्सनको खानदानी पेसा थियो। तर उनको पहिचान यत्तिमा मात्रै सीमित छैन। उनलाई ‘द इकोनोमिस्ट’का संस्थापक पनि मानिन्छ। आर्थिक क्षेत्रमा विशेषज्ञता हासिल गरेका विल्सन चर्चित लेखकसमेत हुन्।
उनले संसारभर आर्थिक मुद्दामा दिएका लेक्चर तथा लेखन आजसम्म पनि सम्झिने गरिन्छ। आफ्नो जीवनको अन्तिम समय विल्सनले भारतको कोलकातामा नै बिताएका थिए।
भारतको बजेट पाकिस्तानका प्रधानमन्त्रीद्वारा पेश
पाकिस्तानका प्रधानमन्त्रीले पनि भारतका लागि बजेट पेश गरेका थिए। पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अली खानले भारत पाकिस्तान छुट्टिने वर्षको बजेट प्रस्तुत गरेका थिए। तत्कालीन जवाहरलाल नेहरुको अन्तरिम मन्त्री परिषद्का अर्थमन्त्री रहेका खानले प्रस्तुत गरेको बजेटलाई ‘पुअर म्यानको बजेट’ भनेर उपमा दिइएको थियो।
उनले भने बजेटलाई ‘सोसलिस्ट बजेट’को रुपमा औँलाएका थिए। खानले पेश गरेको बजेटलाई लिएर उद्योग जगत्बाट तत्कालीन सरकारले निकै आलोचना सहनुपरेको थियो। बजेटमा खानले कर व्यवस्थालाई कठोर बनाएको र हिन्दु समुदायमाथि दबाब दिन खोजिएको आरोप लागेको थियो।
खानले सन् १९४७ मा अंग्रेजहरुबाट स्वतन्त्र हुनुअघि सन् १९४६ फेब्रुअरी २ का दिन तत्कालीन लेजिस्लेटिव असेम्बली भवन (हालको संसद भवन) मा बजेट पाठ गरेर सुनाएका थिए। सो समय लियाकत अली खान ‘अल इन्डिया मुस्लिम लिग’का प्रमुख नेता थिए।
उनलाई मुस्लिम लिगले नै आफ्नो प्रतिनिधिको रुपमा नेहरु सरकारमा पठाएकोमा प्रधानमन्त्री नेहरुले उनलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए। पाकिस्तान बनाउन खानको अहम् भूमिका छ। उनी नै पाकिस्तानको पहिलो प्रधानमन्त्रीमा चयन भए।
दुई हप्तासम्म एकै भवनमा थुनिन्छन् सरकारी अधिकारी
बजेट कुनै पनि देशको सरकारका लागि एक गोप्य दस्तावेज मानिन्छ। बजेटमा समावेश भएका विषय संसदमा पेश हुनुअगाडि कतै सार्वजनिक नहोस् भन्नका लागि भारत सरकारले पनि विभिन्न व्यवस्था गरेको छ। सोही मुताबिक अहिले भारतमा बजेट प्रिन्टिङको अन्तिम कार्य भइरहेको छ।
बजेट प्रिन्टिङको तयारी ‘हलुवा सेरेमोनी’बाट सुरु हुन्छ। अर्थमन्त्री आफै यो सेरेमोनीमा भाग लिन्छन्। जुन कार्यक्रममा एक सयभन्दा बढी सरकारी अधिकारीहरुलाई पनि हलुवा बाडिँन्छ, जो आउने दुई हप्तासम्म नयाँ दिल्लीस्थित ‘नर्थ ब्लक’मा बन्द हुन्छन्।

बजेट प्रिन्टिङमा सारिक हुने अधिकारी आफ्नो स्वेच्छाले सहभागी हुने गर्दछन्। बजेट अर्थ मन्त्रालयको निजी प्रेसमा छाप्ने गरिन्छ। सो समयमा सबै अधिकारीहरुसँग एक सामान्य मोबाइल मात्रै हुन्छ जुनबाट उनीहरु ‘कल रिसिभ’ मात्रै गर्न सक्छन्। फोन गर्न भने पाउँदैनन्।
सो समयमा उक्त भवन वरपर निकै कडा सुरक्षा व्यवस्था मिलाइएको हुन्छ। सेवामा खटिने सबै अधिकारीहरुका लागि खाना तथा आवासीय प्रबन्ध सोही भवनभित्र नै गरिएको हुन्छ। जब अर्थमन्त्रीले संसदमा पूरा बजेट पेश गर्छन् तब मात्रै बजेट तयार गर्ने कार्यमा खटिएका कर्मचारीलाई ‘नर्थ ब्लक’बाहिर निस्कने अनुमति मिल्छ।
साँझ ५ बजे पेश गरिन्थ्यो बजेट
भारतमा अहिले बजेट बिहान ११ बजे पेश गर्ने प्रचलन छ। तर धेरै वर्षसम्म साँझ ५ बजे प्रस्तुत गरियो। अंग्रेजकै पालादखि चल्दै आएको यो परम्परालाई सन् २००१ देखि तत्कालीन अर्थमन्त्री यशवन्त सिन्हाले परिवर्तन गरेका हुन्।

यसपछिको कारण के छ त?
ब्रिटेनमा बजेट बिहान ११ बजे पेश गरिन्थ्यो। त्यो बेला भारत ब्रिटिस सम्राज्यको अधीनमा थियो। ब्रिटेनमा पेश भएको बजेटमा भारतका लागि पनि आवश्यक विभिन्न व्यवस्था समावेश हुने गर्थे। ब्रिटेनमा बिहान ११ बज्दा भारतमा साँझको ५ बजेको हुन्थ्यो। त्यसकारण ब्रिटिसबाट शासित भएकोले पनि उनीहरुको कार्यालय समयअनुसार साँझ नै बजेट पेश गर्ने परम्परा बसेको हो। तर भारत स्वतन्त्र भएको ५४ वर्षसम्म पनि यस कार्यले निरन्तरता पाएको थियो।
स्वतन्त्र भारतको पहिलो बजेट
ब्रिटिस अधिपत्यबाट मुक्त भएपछि सन् १९४७ नोभेम्बर २६ मा भारतमा पहिलो पटक बजेट प्रस्तुत गरियो। स्वतन्त्र भारतको पहिलो बजेट तत्कालीन अर्थमन्त्री आरके शणमुखम चेट्टीले संसदमा पेश गरेका थिए।
धेरै पटक बजेट पेश गर्ने को हुन्?
भारतीय इतिहासमा हालसम्म सबैभन्दा बढी बजेट पेश गर्ने व्यक्ति हुन् पूर्व प्रधानमन्त्री एवम् अर्थ मन्त्री मोरारजी देसाई। उनले सर्वाधिक १० पटक बजेट भाषण गरेका छन्। यही क्रममा पूर्वअर्थमन्त्री पी चिदम्बरमलाई ८ तथा प्रणव मुखर्जी, यशवन्त सिन्हा, वाईबी चव्हाण र सिडी देशमुखलाई ७/७ पटक संसदमा बजेट पेश गरेको अनुभव छ।
९२ वर्षपछि बदलियो परम्परा
मोदी सरकारले गत आर्थिक वर्षको बजेटबाट रेल बजेटलाई छुट्टै पेश गर्ने नियमलाई परिवर्तन गरिदिएको थियो। यो वर्ष दोस्रो पटक रेल बजेटलाई आम बजेटकै साथमा प्रस्तुत गरिनेछ।
करिब ९२ वर्ष अघिदेखि रेल बजेटलाई आम बजेटभन्दा भिन्दै पेश गर्ने परम्परा थियो।
बजेट पेशअघि नै पत्रिकामा सार्वजनिक
भारतमा बजेटलाई संसदमा प्रस्तुत गर्नुअघि निकै गोप्य तरिकाबाट तयार तथा भण्डारण गरिन्छ। तर यो व्यवस्था सुरु भारतदेखि लागू भने भएको होइन। बजेटको गोप्य राख्ने कार्यको सुरुवात भारतबाट नभई बेलायतबाट भएको हो। सो नियमको सुरुवात त्यो घटनादेखि भयो जुन घटनापछि ब्रिटिसका लेबर चान्सलरले आफ्नो कुर्सी त्याग्नुपरेको थियो।
सन् १९४७ मा तत्कालीन लेबर चान्सलर एडवर्ड डेल्टबन बजेट पेश गर्ने तयारीमा जुटेका थिए। त्यही दौरान 'द गार्जियन' पत्रिकाका एक पत्रकार उनलाई भेट्न आइपुगे। सो अनौपचारिक कुराकानीको क्रममा उनले बजेटमा समावेश भएको ट्याक्स प्रस्तावको बारेमा बताए। बजेट भोलिपल्ट पेश हुने कार्यतालिका थियो तर द गार्जियनको साँझको संस्करणमा बजेटमा समावेश भएको ट्याक्स प्रस्ताव छापियो।
सो घटनापछि सरकारमा तरंग फैलियो। आफ्नो गल्तीको महसुस गर्दै डेल्टनले ब्रिटेनका तत्कालीन प्रधानमन्त्री क्लेमेन्ट एटलीलाई राजीनामा दिए थिए। तर उनले राजीनामा तत्काल स्वीकृत गर्न मानेनन्। यहीबीच मुख्य विपक्षी नेता विस्टन चर्चिल पनि डेल्टनको बचाउ गर्न लागे। यति हुँदा पनि डेल्टनले राजीनामा फिर्ता गर्न नमानेपछि अन्तिममा एटलीले राजीनामा स्वीकृत गरे।
यो घटनापछि ब्रिटेनले बजेट बनाउँदा गोपनीयता राख्ने योजनालाई कार्यान्वयनमा ल्यायो। जसको सिको गर्दै विश्वका अन्य देशहरुमा पनि संसदमा बजेट पेश हुनुअघि गोप्य राख्ने प्रचलन बसेको हो। (विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।