रोल्पा- महाप्रभुले ध्यान गरेको स्थान स्वर्गद्वारीको महिमा चुलिँदै गर्दा उनको जन्मस्थल रुन्टी भने चर्चा र चासोभन्दा टाढा छ। बाल तपश्वीको नामले प्रख्यातस्वर्गद्वारी महाप्रभुको कर्मस्थलस्वर्गद्वारी राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको शिखरमा भइरहदा उनको जन्मस्थल रुन्टी भने गुमनाम जस्तै छ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जस्तै महाप्रभुको जन्मस्थल रुन्टीलाई पनि पवित्र धार्मिक स्थल बनाउन सकिने प्रसस्तै सम्भावना भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा महत्वपूर्ण मानिएको स्थान गुमनाम जस्तै हुन पुगेको हो। रुन्टीलाई पर्यटक आवागमनका हिसाबले 'मिनी-लुम्बिनी' बनाउन सकिने प्रसस्तै सम्भावना भएको सांस्कृतिक तथा धार्मिक क्षेत्रका अभियान्ताहरुको भनाइ छ।
रोल्पाको रुन्टीगढी गाउँपालिकाअन्तर्गत साविक सखी गाविस-९ मा रहेको महाप्रभुको जन्मस्थल रुन्टीमा न्यूनतम पूर्वाधारको समेत विकास हुन नसक्दा छायामा पर्दै गएको स्थानीयहरुको गुनासो छ।
भौतिक पूर्वाधार तथा सांस्कृतिक प्रवर्द्धनमा लगानी हुन नसक्दा रुन्टीले आफ्नो गरिमा र महत्वलाई बाहिर ल्याउन नसकेको जानकारहरुको बुझाई छ। महाप्रभुको जन्मस्थल मात्र नभएर अखण्ड यज्ञ लगाएको, सन्यासग्रहण गरेको र लामो समय तपस्या समेत गरेको हुनाले पनि रुन्टीकोे महिमा उच्च रहेको सो मन्दिरका पुजारीहरु बताउँछन्।
दाङ सदरमुकाम घोराहीबाट करिव ३२ किलोमिटर उत्तरतिर पर्ने रुन्टीको प्रचारप्रसार र महिमा बढाउन भन्दै पछिल्लो पटक गरिएको स्थानीय तहको पुनरसंरचनामा गाउँपालिकाको नाम रुन्टीगढी राखिएको छ। रुन्टी महाप्रभुको जन्मस्थल र बाइसे-चौबीसे राजाहरुले शासन गर्दा गढको रुपमा प्रयोग गरेको लेकलाई जोडेर रुन्टीगढी गाउँपालिका राखिएको सो गाउँपालिका अध्यक्ष बालाराम बुढाको तर्क छ। 'पवित्र धार्मिक स्थल रुन्टी र सामरिक महत्वको स्थान गढीको समुच्च प्रचार-प्रसारका लागि स्थानीय तह नामाकरणको बेला यो नाम राखेका हौ,' अध्यक्ष बुढाले भने।
रोल्पा सदरमुकाम लिवाङबाट दक्षिणमा पर्ने रुन्टी होलेरी बजारबाट करिब ९ किलोमिटर पूर्वमा पर्दछ। रुन्टीको धार्मिक महत्वसँगै यस क्षेत्रको प्राकृतिक मनोरम दृश्यले प्रकृतिप्रेमीहरुलाई लोभ्याउने क्षमता राख्दछ। प्यूठान जिल्लाकोस्वर्गद्वारी नगरपालिकामा रहेको स्वर्गद्वारी महाप्रभुले कर्म गरेको स्थानदेखि रुन्टीसम्मको सडक दुरी करिब १५ किलोमिटर मात्र रहेको छ।
स्वर्गद्धारी धार्मिक क्षेत्र, रुन्टी धार्मिक क्षेत्र, ऐतिहासिक किल्ला गढी लेक, त्यस आसपासको मनोरम वनजंगल, वन्यजन्तु, लहरै देखिने हिमालहरुको अवलोकन, होलेरी बजारको हावापानी आदीका कारण यस क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकिय क्षेत्र हुने सम्भावना रहेको छ। वसन्त ऋुतमा फुल्ने लालीगुराँसको ताँतीले रुन्टी जस्तो पूण्यभूमिको गौरवलाई सुन्दर र समृद्ध बनाउने गर्दछ। यति मात्र होइन हिन्दु धर्ममा विश्वास गर्नेहरुका लागि रुन्टी एक तिर्थस्थल पनि हो। यद्यपि रुन्टीको समग्र विकासको लागि सरकारी लगानी भने खासै हुन सकेको छैन।
नारायण खत्री अर्थात् महाप्रभुको जन्म विसं १९१६ साल श्रावण शुक्ल एकादशीको रातमा भएको थियो। पिता अनिरुद्र गौतम खत्री र माता स्वेतकुमारी गौतम खत्रीको पहिलो सन्तानको रुपमा जन्म लिएका उनै नारायण खत्री पछि महाप्रभुको रुपमा प्रकट भएका थिए। दैवीशक्तिको अद्भूत क्षमता भएका मानिने प्रभुको त्याग र तपस्याले सिंगो मानव समुदायको हित र कल्याणमा लाग्न प्रेरित गर्दछ।
उनै तपस्वीले स्वर्गद्वारीमा महायज्ञको आयोजना गरेका थिए। बालक नारायणले आफ्नो कर्मले प्रभु, महाप्रभु, बालतपस्वीका साथै सन्यास ग्रहणपछि स्वामी हंसानन्द गिरीको रुपमा पनि जीवन बिताएको पाइन्छ। यसै गाँउमा अखण्ड वैदिक यज्ञको थालनीसमेत गरिएको पाइन्छ। प्रभु जन्मिएको सो स्थानमा अहिले सानो मन्दिर रहेको छ। मन्दिरभित्र प्रभुको पवित्र खराउ र मूर्ति राखिएको छ।
अनुयानीहरु प्रभुको खराउ र मूर्तिमा पूजा गर्न पुग्दछन्। यसका साथै प्रभु जन्मेको घरमा प्रयोग भएका झ्याल प्रयोग गरेर सानो धर्मशाला निर्माण गरिएको छ। धर्मशाला र मन्दिर रहेको ठाउँदेखि करिब ५ सय मिटरमाथि प्रभुले निर्माण गरेको यज्ञशालाको अवशेष पनि भेटिन्छ। यस क्षेत्रमा प्रभुले ३५ वर्ष बिताएको बताइन्छ।
नेपालका महत्वपूर्ण धार्मिक गन्तव्यअन्तर्गत स्वर्गद्वारीको महत्व र महिमा अतुलनीय भए पनि रुन्टी भने गुमनाम छ। रुन्टीलाईस्वर्गद्वारीको पुरक धार्मिक गन्तव्यको रुपमा विकास गर्न सके यसको महिमा अझै बढ्दै जाने र पश्चिम नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्नेमा दुई मत छैन।
स्वर्गद्वारीको दर्शन गर्ने कुनै पनि भक्तजनले महाप्रभुको जन्मस्थल रुन्टीको दर्शन नगरे मनोकांक्षा पूरा नहुने धार्मिक विश्वास छ। प्यूठान भिंग्रीको बाटो हुँदै स्वर्गद्वारी दर्शन गर्ने अनि रुन्टीको दर्शन गरी दाङ झर्न सकिन्छ। यतिमात्र होइन दाङबाट गाडीको यात्राबाट रुन्टी पुग्न सकिन्छ। रुन्टी अवलोकन गरी स्वर्गद्धारी पुग्न पनि सकिन्छ।
पछिल्ला दिनमा रुन्टीलाई सडक सञ्जालले जोडेको भए पनि यसको निरन्तर विकासमा राज्यले थप ध्यान दिनुका साथै पूर्वाधार विकासमा ठूलै लगानी गर्नुपर्ने धार्मिक पर्यटनका जानकारहरुको भनाइ छ।
स्थानीय सरकार गठनसँगै उक्त क्षेत्रको प्रचारप्रसारमा केही सक्रियता भने देखाइएको छ। सोही क्रममा रुन्टीगढी अक्षर सम्मेलन सम्पन्न गरिएको थियो। सम्मेलनमा देशभरका साहित्यकार, पत्रकारहरुको उपस्थिति रहेको गाउँपालिकाका पर्यटन सम्पर्क व्यक्ति दीपक डिसीले जानकारी दिए
'यस क्षेत्रको थप प्रचार गर्नका लागी चालू आर्थिक वर्षमा राष्ट्रिय स्तरको मिडिया सम्मेलन गर्ने सोच बनाएका छौं,' डिसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।