काठमाडौं– नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ।
कांग्रेस जिल्ला कोषाध्यक्षहरुले शुक्रबार पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिएका छन्।
काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले ‘हामी बद्लिन्छौँ, काँग्रेस बदल्छौँ’ भन्ने मूल नाराका साथ सम्मेलन गर्न लागेको जानकारी दिए । “यो सम्मेलनले काँग्रेसलाई नवजीवन दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उनले भने।
काँग्रेस जिल्ला कोषलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
जिल्ला कोषाध्यक्षका उपसंयोजक एवं धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले प्रथम राष्ट्रिय सम्मेलनबाट पारित भएका घोषणापत्रलाई अविलम्ब कार्यान्वयन गर्नका लागि दोस्रो सम्मेलनले दबाब दिने बताए।
काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन गत वर्ष पुुस ८ र ९ गते काठमाडौँमा भएको थियो।
निर्वाचनमा पराजयपछि कांग्रेसका नेताहरुले भेला र सम्मेलन बोलाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।