काठमाडौं- भारतमा ७० वर्षदेखि चल्दै आएको बाबरी मस्जिद-राम मन्दिर विवादमा सर्वोच्च अदालतले मंगलबारदेखि निरन्तर सुनुवाइ थालेको छ।
प्रधानन्यायाधीश रञ्जन गोगाईसहितका ५ न्यायाधीशको इजलाशले यो विवादमा अन्तिम फैसला सुनाउन सुनुवाइ थालनी गरेको हो।
यसअघि सर्वोच्चले धार्मिक गुरु श्री श्री रवि शंकरको नेतृत्वमा विवाद समाधानका लागि मध्यस्थता समिति गठन गरेको थियो। उक्त समिति पनि विभाजित भएपछि सर्वोच्चले गत शुक्रबार तत्कालीन मुद्दालाई पेसीमा राखेर सुनुवाई सुरु गरेको थियो।
सर्वोच्चले मंगलबारदेखि निरन्तर सुनुवाई गर्दै सातामा ५ दिन बहस गर्ने निर्णय सुनाएको थियो। पहिलो दिन निवेदक मध्येका एक रामललाले आफ्नो कुरा राखिरहेका छन्। उनले 'राम मन्दिर हिन्दुहरुका लागि त्यति नै महत्वपूर्ण भएको जति मुस्लिमहरुका लागि मक्का हो' भन्दै राम मन्दिर निर्माण हुनुपर्ने पक्षमा फैसला आउनुपर्ने माग गरे।
यो मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश गोगोई र न्यायाधीशहरु एसए बोबड, धनन्जय वाई चन्द्रचुड, अशोक भुषण र एस अब्दुल नजिरको पूर्ण इजलासमा भइरहेको छ।
भारतीय इतिहास जति लामो छ, बाबरी मस्जिद र राम मन्दिर विवाद पनि त्यति नै लामो रहेको हिन्दु धर्मका अध्येताहरुको तर्क रहँदै आएको छ। तर, यी दुई सम्पदाले झन्डै ७० वर्षदेखि भारतीय अदालत, सरकार र जनतासँग पौंठेजोरी खेलिरहनुपरेको छ।
सिभिल, जिल्ला, उच्च र सर्वोच्च अदालतले समेत यस मामिलामा पटक-पटक आदेश सुनाउँदै फैसलासमेत हुँदै आएका छन्। तर, विवाद उही पुरानै ३ सय वर्ष पहिले पुगेर रोकिँदै आएको छ।
किन ३ सय वर्ष?
३ सय वर्ष पहिले उक्त क्षेत्रमा हिन्दुहरुका पूज्य देवता भगवान रामको मन्दिर थियो कि थिएन र उक्त मन्दिर भत्काएर मस्जिद निर्माण भएको हो वा होइन भन्नेमै बहस घुमिरहेको छ।
सत्ता परिर्वतन र हरेक आम निर्वाचनको समयमा यस मुद्दाले दलको एजेन्डामा प्रवेश पाउने गरेको छ। तर, समाधान आजसम्म निस्कन सकेको छैन।
यसरी सुरु भयो बाबरी मस्जिद-राम मन्दिर विवाद
राम मन्दिर र बाबरी मस्जिद विवादको सुरुवात २२-२३ डिसेम्बर १९४९ मा मस्जिदभित्र लुकाएर मूर्ति राखिएबाट सुरु भएको मानिन्छ।
सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा पहिलेदेखि कायम रहेको राम चबुतरेमा पुनः लैजाने वा अहिले जुन स्थानमा भेटिएको छ त्यहीँ पूजा गर्ने भन्ने थियो। तर, ६० साल लामो यो लडाइँ अहिले पनि यही विवादकै घेरामा घुमेको छ। ६ दशकको अदालती प्रक्रियामा विवादित मस्जिद हिन्दु मन्दिर भत्काएर बनाइएको थियो? के यो रामको जन्मभूमि थियो? यही विवाद अहिले पनि कायमै छ।
यस विवादमा किनारा गर्नुपर्ने अर्को महत्वपूर्ण कुरा भनेको यो मस्जिद कहिले र कसले निर्माण गरेको टुङ्गो लगाउनु पनि हो। यो मस्जिद बाबर अर्थात् मीर बाँकीले बनाएकै हुन् त? भन्ने हो।
सुरुवाती मुद्दा उक्त मूर्ति मस्जिदको आँगनमा राखी रामको नियमित पूजा-आराधाना हुनुपर्ने थियो। तर, त्यसमा सहमत हुन नसकेपछि यो विवाद कायमै रहेको हो। यो मामलामा केही कानुनी प्रश्नसमेत छन्।
के यो जसले दाबी गरेको छ, उनीहरुको मात्र हकभित्र पर्ने हो वा नपर्ने हो, त्यसको किनारा अब आउने फैसलाले गर्नुपर्नेछ। अदालतले यो प्रश्नसमेत सुल्झाउनुपर्नेछ।
हाल अदालतमा ४ वटा निवेदन विचाराधीन रहेका छन्। जसमा ३ थान हिन्दु र १ थान मुस्लिम पक्षले हालेको निवेदन रहेको छ। पक्ष र विपक्षमा हेर्ने हो भने कूल ३० पक्षधर यो मुद्दामा रहेका छन्। हालसम्म सरकारले राम मन्दिरको पक्ष लिएको आरोप लाग्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।