काठमाडौं - भारतीय क्रिकेट टिमका नयाँ प्रशिक्षक छनोटका लागि ६ जनाको अन्तर्वार्ता सुरु भएको छ। प्रशिक्षकका लागि आवेदन दिएका दुई हजार भन्दा बढीबाट अन्तिम ६ जना अन्तर्वार्ताका लागि छानिएका हुन्।
विश्वकपका बेला भारतीय टिमका प्रशिक्षक रहेका रवि शास्त्रीसँगै न्युजिल्याण्डका पूर्वप्रशिक्षक माइक हेसन, अस्ट्रेलियाका पूर्व अलराउण्डर तथा श्रीलंकन टिमका प्रशिक्षक रहिसकेका टम मुडीसमेत अन्तिम ६ मा छन्।
यस्तै अन्तिम ६ जनामा वेस्ट इन्डिजका पूर्व अलराउण्डर तथा अफगानिस्तानका प्रशिक्षक रहिसकेका फिल सिमोन्स, भारतीय टिमका पूर्व म्यानेजर लालचन्द राजपुत साथै भारतीय टिमका पूर्व फिल्डिङ प्रशिक्षक रोबिन सिंह अन्तर्वार्ताका लागि छानिएका हुन्।
पूर्वक्रिकेटर कपिल देवको नेतृत्वमा रहेको क्रिकेट एडभाइजरी कमिटीसमक्ष छानिएका ६ जनाले आफ्नो प्रस्तुति राख्ने छन्। त्योसँगै उनीहरुको अन्तर्वार्ता हुनेछ। अन्तिम नतिजा शुक्रबारसम्म आउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।