काठमाडौं– नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूले अमेरिकाको भिसा नपाएको भन्दै हेलो सरकारमा गुनासो गरेका छन्।
क्यारेबियन प्रिमियर लिगको तयारीका लागि सबै प्रक्रिया पूरा गर्दा पनि भिसा नपाएको उनको गुनासो छ। ‘क्यारेबियन प्रिमियर लिगमा जानका लागि अमेरिकन भिसा लिन दूतावास गएको थिएँ, राष्ट्रिय खेलाडी र २०१६ देखि अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटहरुमा सहभागी भइरहेको छु। अहिले सिपिएलमा सहभागी हुन जानका लागि दूतावास जाँदा मेरो भिसा अस्वीकृत हुनाले अचम्ममा परेको छु,’ मंगलबार सन्दीपले ट्विटमार्फत भनेका छन्।
ट्विटमा अमेरिकन दूतावास, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री र हेलो सरकालाई मेन्सन गर्दै सन्दीपले अगाडि लेखेका छन्, ‘यो सबै देख्दा म हाँसिरहेको छु, के बोल्ने शब्द छैन, सबै आवश्यक कागजात भएर पनि यस्तो भयो, अनौठो लागेको छ, सिपिएलमा अभ्यास मेरा लागि महत्वपूर्ण छ।’
क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नयाँ सिजनका लागि सन्दीपलाई बारबाडोस ट्रीडेन्टसले ७० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। गएको वर्ष सिपिएलको पाँचौ संस्करणमा सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स टिमबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।