काठमाडौं – काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई सोमबार पुरस्कृत गरिएको छ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडीलाई पूर्व घोषित नगद पुरस्कार प्रदान गरेका हुन्। साउन २ देखि ५ गतेसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले ३ स्वर्ण, ७ रजत र ६ कांस्य जितेका थिए।
स्वर्ण जित्ने खेलाडीलाई ५० हजार, रजत जित्नेलाई ३० हजार र कांस्य जित्नेलाई २० हजार रुपैयाँका दरले कुल ४ लाख ८० हजार नगद पुरस्कार अध्यक्ष श्रेष्ठले एक कार्यक्रमबीच खेलाडीलाई हस्तान्तरण गरे।
प्रतियोगितामा पुरुष ६५ केजी समिर श्रेष्ठ, पुरुष एथलेटिक फिजिक १६७ सेन्टिमिटरमाथि नरेश मालाकार र महिला मोडेल फिजिकमा मल्लिका शाक्यले नेपाललाई स्वर्ण दिलाएका थिए।
पुरुष ६० केजीमा कमल भण्डारी, पुरुष ७० केजीमा रमेश कार्की, पुरुष एथलेटिक फिजिक १६७ सेन्टिमिटरसम्म निशान्त प्रधान, पुरुष फिट्नेस फिजिकमा राजु राई, पुरुष स्पोट्र्स फिजिक १७० सेन्टिमिटरसम्म प्रमोद राई, महिला एथलेटिक फिजिकमा रजनी श्रेष्ठ र महिला मोडेल फिजिकमा पूजा श्रेष्ठले रजत जितेका थिए।
त्यस्तै पुरुष ५५ केजीमा किसनदास दिवाकर, ६५ केजीमा प्रज्ज्वलमान शाक्य, ७५ केजीमा अशोक महर्जन, ८५ केजीमा मिलन सिजापति र जुनियर बडीबिल्डिङमा कृष्ण महर्जन तथा महिला एथलेटिक फिजिकमा सुजिता मानन्धरले कांस्य जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।