काठमाडौं - लिभरपुलका गोलकिपर एलिसन चोटका कारण ‘केही हप्ताका लागि’ टिमबाट बाहिर हुने भएका छन्। नरविच सिटीसँगको खेलमा घाइते भएका उनको चोट ठीक हुन समय लाग्ने भएको हो।
लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले पनि अझै केही प्रशिक्षणपछि बाँकी विषय थाहा हुने बताएका छन्। नरविचसँगको खेलको ३९ औँ मिनेटमा चोटका कारण बाहिरिएको खेल लिभरपुलले ४–१ ले जितेको थियो। एलिसनको स्थानमा भर्खरै क्लबमा ल्याइएका एड्रियनलाई खेलाइएको थियो।
‘उनको अवस्था ठीक छैन, पिडौंलामा चोट लागेको हो, त्यसैले केही हप्ता उनी मैदानबाट बाहिर हुने छन्’ क्लोपले भनेका छन्।
लिभरपुल एलिसन ठिक नहुँदासम्मका लागि भेट्रान गोलकिपर एन्ड्रु मिचेल लोनेरगनलाई टिममा ल्याउने योजनमा पनि छ।
गएको सिजन लिभरपुललाई च्याम्पियन्स लिग जिताउन र प्रिमियर लिगमा पनि दोस्रो स्थानमा रहन एलिसनको भूमिका महत्वपूर्ण थियो। उनी गएको सिजन नै रोमाबाट लिभरपुल आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।