काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारीलाई समर्थन गर्ने निर्णय विवादित भएपछि विवेकशील साझा पार्टीले स्पष्टिकरण दिएको छ। शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टीले अधिकारीको विवेकपूर्ण निर्णय लिनसक्ने क्षमतामा विश्वास भएकैले समर्थन गरिएको बताएको छ।
आफूहरुसँग चुनावमा भागै नलिने, आफ्नै उम्मेदवार उठाउने, वाम गठबन्धनका उम्मेदवारलाई सघाउने र कांग्रेस उम्मेदवारलाई सघाउने चार विकल्प मात्र भएको उल्लेख गरिएको छ।
'यो देशका लागि अत्यन्त घातक ‘शिक्षा विधेयक’ ल्याइदा संसदमा पार्टीको निर्णयभन्दा विपरित गएर मतदान गर्ने तीनजना सांसदहरुमध्ये अधिकारी एक हुन्', विज्ञप्तीमा भनिएको छ, 'केही समयअगाडि चर्चित लोकमान सिंह कार्की र शुशिला कार्कीमाथिको छुट्टाछुट्टै महाभियोग प्रकरणमा अधिकारीले खेलेको जनपक्षीय भूमिका र उनले संसदमा दिएका अभिव्यक्तिहरुको पनि यहाँ स्मरण गरिनु वान्छनीय हुन्छl'
सो पार्टीले ‘भ्रष्टाचारको कसूरमा सजायँ भुक्तान गरिसकेको व्यक्तिले पनि भविष्यमा चुनाव लड्न पाउनुपर्छ’ भन्ने राधेश्याम अधिकारीको अभिव्यक्तिप्रति पूर्णरुपमा असहमत भएको पनि बताएको छ। 'उहाँको त्यो धारणा एक कानुनविद्को हिसाबले विधि शास्त्रीय सिद्धान्तमा टेकिएर गरिएको तर्क हुनसक्ला तर हामी सो तर्कको ठिक विपरित भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिलाई कडा सजायँका साथै राजनीतिबाट विमुख गरिनुपर्छ भन्ने मान्यता राख्दछौ', विज्ञप्तीमा भनिएको छ।
आफ्नो निर्णयले राष्ट्रियसभामा एकजना प्रवुद्ध व्यक्ति जाने र संसदीय प्रणालीमा महत्वपूर्ण मानिने ‘विपक्षी बेन्च’लाई बलियो बनाउने एउटा सम्भावनालाई प्रकारान्तरले खेरफाल्ने काम हुने देखिएकोले आफ्नो उम्मेदवार नभए पनि प्रत्याशीहरु मध्येको उपयुक्त विकल्पको रुपमा अधिकारीलाई रोजेको विज्ञप्तीमा बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।