एथेन्स- युरोपमा पुग्ने आप्रवासी तथा शरणार्थीको भारलाई समानरूपमा वितरण गर्न ग्रीसले युरोपेली संघ (इयू)सँग सोमबार आग्रह गरेको छ।
ग्रीसका केही टापूहरू हुँदै यूरोप प्रवेश गर्न खोज्ने आप्रवासीको सङ्ख्या गत केही हप्तायता व्यापक बढेपछि ग्रीसले उनीहरूको व्यवस्थापनलाई लिएर इयूमा चिन्ता व्यक्त गरेको हो।
गत जुलाई ७ पछि ग्रीसको बाटो युरोप प्रवेश गर्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्यामा वृद्धि भएको छ। दैनिक आप्रवासी आउन थालेपछि ग्रीसले यो समस्यालाई इयूमा उठाएको बताइएको छ।
'विगत एक-डेढ महिनायता आप्रवासीको प्रवाहमा निकै वृद्धि भएको छ,' ग्रीसका नागरिक सुरक्षा उपमन्त्री जर्जियस कोमोटसाकेसले ग्रीक दैनिक 'काथिमेरिनी'सँगको अन्तर्वार्तामा भनेका छन्।
टर्कीको नजिक रहेका टापूहरू लेस्बस, सामोस, चिओस, कोस, र लेरोसमा २० हजारभन्दा बढी आप्रवासी, शरणार्थीहरू जम्मा भएका छन्। पछिल्ला केही महिनामा आप्रवासी तथा शरणार्थीहरूको उक्त क्षेत्रमा प्रवेशको क्रम १७ प्रतिशतले बढेको बताइएको छ।
इयूले शरणार्थीको वृद्धि हुनुमा ग्रीसको नयाँ अनुदारवादी पार्टीको आप्रवासी नीतिलाई जिम्मेवार देखेको छ। पछिल्लो समय इयूले आप्रवासी नियन्त्रणमा ग्रीस र इटालीका नाकामा कडाई गर्ने नीतिसँगै उक्त बाटो युरोप पुग्ने आप्रवासीको सङ्ख्यामा व्यापक कटौति भएको थियो।
सिरिया, लिविया, यमन, अफगानिस्तानलगायतका मुलुकमा भएको द्वन्द्वका कारण सन् २०१५ मा युरोपमा शरणार्थीका रूपमा पुग्ने एसियाली तथा अरबी नागरिकको सङ्ख्याले आप्रवासी समस्या एक सङ्कटका रूपमा देखिएको थियो। तर, पछिल्ला केही वर्षमा यो सङ्ख्यामा उल्लेख्य कमी आएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।