नयाँ दिल्ली- भारतमा अघिल्लो हप्तादेखि परेको वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८४ पुगेको छ।
सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १ सय ८४ पुगेको पुष्टि गरेका हुन्। उनीहरुले बाढीका कारण दश लाख मानिस विस्थापित भएको पनि बताएका छन्।
देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म भारी वर्षा भएपछि बाढीले जनधनको क्षति गरेको हो।
'यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ,' केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले भने।
पछिल्लो विवरणअनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार मानिस प्रभावित भएका उनले बताए। केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उनले जानकारी दिए।
छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ। यो तथ्याङ्क पछिल्लो समयको सबैभन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन्।
'हाम्रो राज्यबाट ५ लाख ८० हजारभन्दा बढी विस्थापित भएका छन्,' कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले भने।
बाढीका कारण धेरै राजमार्ग र अन्य भित्री सडकहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ।
भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन्। उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अन्य दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।