चितवन- बाँदरमुढे घटना पीडित समितिले उक्त घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेकामा स्वागत गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ०६२ जेठ २३ गते जिल्लाको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबसमा भएको बम विस्फोटमा परी मारिएका ३८ जनालाई सहिद घोषणा गरेकामा समितिले आज एक विज्ञप्ति निकालेर स्वागत गरेको हो।
समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफूहरुले राखेको माग वर्तमान सरकारले सुनुवाइ गरेको उल्लेख छ। समितिले आगामी दिनमा पीडकलाई सजाय र पीडितलाई न्याय तथा परिपूरण दिन सरकारको ध्यानाकर्षण समेत गराएको छ।
विज्ञप्तिमा वर्तमान सरकारको शहीद घोषणाको निर्णयलाई सहयोग र स्वागत गरिने जनाइएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिला आयोगलाई पूर्णरुपमा सहयोग गरी पीडितलाई बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न मागसमेत गरिएको छ।
माडीको बाँदरमुढे खोलामा ०६२ साल जेठ २३ गते यात्रुबाहक बसमा बम विस्फोट हुँदा ३८ जनाले ज्यान गुमाएका र ७२ जना घाइते भएका थिए। सो घटनामा माओवादी केन्द्रले माफी माग्दै आएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।