डेढ लाख घुस लिने सशस्त्रका प्रहरी जवानविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १८:१९:०० मा प्रकाशित

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल नं ४ गण इनरूवा सुनसरीका जवान बलराम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएका जवान यादवविरुद्ध सो बराबर बिगो दाबी गरिएको छ। अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार  मुद्दा दायर गरेको हो।

व्यापार व्यवसाय सहज बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको अधारमा अख्तियारले यादवमाथि अनुसन्धान थालेको थियो। अनुससन्धानको क्रममा अख्तियारको इटहरीबाट खटिएको टोलीले उनलाई केही दिनअघि सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा यादवले सेवाग्राहीलाई व्यापार व्यवसाय गर्न सहज गराइदिने भनी उक्त रकम घुस लिएको पुष्टि हुन आएको हुँदा उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। दायर मुद्दामा उनीसँग १ लाख ५० हजार रुपैयाँ बिगो दाबीसमेत गरिएको छ।