



तपाईं ठूलो मान्छे
बिहान 'बाथरुम' मा पस्दा मात्रै
पत्रपत्रिका पढ्न भ्याउने हुनुभो
स्लिप नपठाई
अब भेट्न नसकिने हुनुभो
हाई ! हाई !!
जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो
स्वागतमा
अब नमस्ते नपुग भएर
फुलगुच्छा पनि चाहिने हुनुभो
अब त-
दिनको दुई-चार ठाउँबाट
बैठक-भत्ता पनि पाउन थाल्नुभो
उद्घाटनमा, अब तपाईं नपुगिनहुने हुनुभो
विसर्जन, अब तपाईंबाटै हुनुपर्ने भो
भाषण त तपाईंको पर्याय भै नै सक्यो
अब के मात्रै सम्भव छैन तपाईंको इच्छामा?
अब को मात्रै पछि लाग्दैन तपाईंको इसारामा?
अब तपाईंले व्यभिचार नै सोचे पनि आवश्यकता ठहर्याइन्छ
अब तपाईंले अपराध नै गरे पनि देशसेवा कहलाइन्छ
साँच्चै !
अब तपाईं आकाश हुनुभो
अब तपाईं आराध्य हुनुभो
रेडियोमा तपाईंलाई नै सुन्छौं हामीहरु
टेलिभिजनमा तपाईंलाई नै हेर्छौं हामीहरु
सत्ते धरोधर्म !
अब तपाईं ठूलो मान्छे हुनुभो
तर महाशय !
सबै थोक जितेर पनि
सायद केही जित्नुभएन तपाईंले
ठूलो मान्छे भएपछि
के एक रात पनि तपाईं
रुपियाँले नटोकेको स्वाभाविक निद्रा निदाउनुभएको छ?
जालझेल नसोचेर
के एक छक्काल मात्रै पनि तपाईं
परिवारसँग रमाउन सक्नुभएको छ?
छैन भने-
'ठूलो मान्छे' हुनुको के अर्थ रह्यो त तपाईंलाई?
कठै ! आफ्नै छोराको लागि पनि अब तपाईं
कहिलेकाहीँ देखिने मीठो सपना हुनुभएको छ
र आफ्नै स्वास्नी-आँखामा त अब तपाईं
फ्रेममा सजाएभन्दा अलि ठूलो साइजको फोटो मात्र बच्नुभएको छ !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।