बार्सिलोना- फिलिप काउन्टिन्होले डेब्यु गरेको खेलमा बार्सिलोनाले इस्पान्योललाई पराजित गरेको छ।
स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको दोस्रो लेगमा इस्पान्योललाई बार्सिलोनाले २-० गोलले पराजित गरेको हो। जितसँगै बार्सिलोना समग्रमा २-१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि पहिलो लेगमा बार्सिलोना १-० गोलले पराजित भएको थियो। त्यो पराजय बार्सिलोनाको सिजनकै पहिलो थियो।
बार्सिलोनालाई दोस्रो लेगमा जित दिलाउने क्रममा लुइस सुआरेजले नवौ मिनेटमा र लिओनल मेसीले २५ मिनेटमा गोल गरेका थिए। खेलमा इंग्लिस क्लब लिभरपुलबाट कीर्तिमानी रकममा बार्सिलोनामा आवद्ध भएका ब्राजिलियन मिडफिल्डर काउटिन्होले डेब्यु गरेका थिए। उनी ६८ मिनेटमा आन्द्रेस इनिस्टको स्थानमा मैदान छिरेका थिए।
कोपा डेल रेमा यसअघि लेगानेसले रियल म्याड्रिडलाई, भ्यालेन्सियाले अलाभेसलाई र सेभिल्लाले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।