काठमाडौं – इंग्लिस प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई ४-० ले हराएको छ। प्रशिक्षक फ्रान्क लामपार्डको प्रशिक्षणमा पहिलो प्रिमियर लिग खेलमा नै चेल्सीको खराब नतिजा भएको हो।
वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडले १९६५ पछिको उत्कृष्ट जित निकाल्दै चेल्सीलाई कमजोर पारिदिएको हो। पहिलो खेलमा नै चार गोल खाएपछि चेल्सी प्रशिक्षक लामपार्डले आफ्ना खेलाडीहरुले धेरै नै गल्ती गरेको प्रतिक्रिया दिए। चेल्सी पहिलो हारपछि रेलिगेसन जोनको दोस्रोमा रहेको छ। जुन ३० सेप्टेम्बर २००० पछि पहिलोपटक हो।
खेलको १८ औँ मिनेटमा रासफोर्डको गोलबाट अग्रता बनाएको युनाइटेडका लागि ६७ औँ मिनेटको पेनाल्टीमार्फत उनैले दोस्रो गोल गरेका थिए। ६५ औँ मिनेटमा मार्सियल र ८१ औँ मिनेटमा जेम्सको गोलमार्फत युनाइटेड ४-० ले विजयी भयो। जेम्सले आफ्नो प्रिमियर लिगको डेब्यू खेलमा नै गोल गरेका हुन्।
चेल्सीले खेलमा बनाएका केही राम्रा अवसर सदुपयोग हुन सकेन। डिएरियाबाट बाहिरिने र पोस्टमा लागेर फर्किएका केही अवसर दुर्भाग्य सावित भयो।
खेलमा बल पोसेसन पनि झण्डै १० प्रतिशत बढी चेल्सीकै रहेको थियो। बल प्रहारलाई हेर्ने हो भने पनि चेल्सीले पोस्टमा १८ प्रहार गरेको थियो भने युनाइटेडले ११ प्रहार गरेको थियो।
यसअघि प्रिमियर लिगमा चेल्सीबाट डेब्यू प्रशिक्षणमा १९७८ मा ड्यानी ब्लान्चफ्लावरले मिडल्र्सबर्गसँग ७-२ ले हारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।