काठमाडौं – क्यानडामा भएको ग्लोबल टी-२० क्रिकेटमा नेपालका बलर सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्सले उपाधि जितेको छ। फाइनलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराएसँगै सोमपाल विदेशी फ्रेन्चाइज टी-२० को उपाधि जित्ने पहिलो नेपाली खेलाडी बने।
भ्यानकुभरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हक्सले १ सय ९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको नाइट्सले पनि २० ओभरमा १ सय ९२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा १० रनको लक्ष्य हक्सले चार बलमा भेट्टाएको हो।
फाइनल खेलमा सोमपाल प्लेइङ ११ मा भने थिएनन्। उपाधि जितेसँगै सोमपालले ट्वीटमार्फत सबैलाई बधाई दिएका छन्। टिमका खेलाडी साथीहरु र सम्पूर्ण स्टाफलाई बधाई दिँदै उनले भनेका छन्, ‘असाध्यै राम्रो यात्रा र त्यसको अन्त्य विजेता बनेर भयो।’
यसअघि एड्मोन्टन रोयल्सविरुद्ध खेलेका सोमपालले दुई ओभर बलिङ गरेर ३३ रन खर्चिएका थिए। नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि ग्लोबल टी–२० मा टोरन्टो नेशनल्सबाट खेलेका थिए । उनको टिम इलिमिनेटर खेलमा हक्ससँग नै पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।