हाङचाओ- चीनमा ‘लेकिमा’ नामक आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने करिब ५ सय जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।
आँधीले करिब २५ हजार घरहरूमा क्षति पुर्याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान छ।
आँधी चीनको चच्याङ प्रान्तबाट शनिबार सुरु भएर च्याङ सु प्रान्तमा प्रवेश गरेको थियो। आँधी अगस्टको ११ तारिख दिउँसो चिनियाँ पहेँलो समुद्र क्षेत्रको पश्चिमतिर जाने र सोही दिनको बेलुकीसम्म शान तुङ प्रान्तको री चाउ नामक सहरनजिकका क्षेत्रमा पुग्ने चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ।
यस्तै आँधीपछि आएको पहिरोमा परेर च च्याङमा १४ जना हराइरहेका सुरक्षा अधिकारीले बताएका छन्।
शनिवार बिहान लेकिमाले ताइवान र चीनको आर्थिक राजधानी शाङ्घाईको बीचमा पर्ने वेन्लिङलाई प्रभावित तुल्याएको थियो।
लेकिमालाई पहिला ‘कडा तुफान’ मानिएको थियो। तर, भूमिमा आइपुग्नुपहिले नै तुफानको गति क्षीण भएको छ। सुरूमा लेकिमा १ सय ८७ किलोमिटर प्रतिघण्टाको वेगमा आएको चिनियाँ मौसम विज्ञान केन्द्रले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।