म्याड्रिड– स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिडले सिजनमा खराब प्रदर्शन जारी नै राखेको छ। ला लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि परेको रियल स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
रियललाई लेगानेसले अवे गोलमा पछि पारेर अन्तिम आठबाटै घर फर्काइदिएको हो। समग्रमा २–२ गोलको बराबरीमा सकिएपनि लेगानेसले दोस्रो लेगमा २ अवे गोल गरेर फाइदा उठायो। बुधबार रियलको मैदानमा भएको दोस्रो लेगमा लेगानेसले २–१ को जित निकालेको हो।
३१ मिनेटमा इरासोले गोल गरेर लेगानेसलाई अग्रता दिलाए। तर दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काउन सफल भए। ५५ मिनेटमा लेगानेसका अपेट पिरेसले अर्को गोल गरेर दोस्रो पटक अग्रता दिलाए। यसअघि भएको पहिलो लेगमा रियलले १–० गोलले लेगानेसलाई पराजित गरेको थियो।
अर्को खेलमा भ्यालेन्सियाले अलाभेसलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।