सोल - उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको छ। बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा अभ्यासका लागि गएका हुन् ।
आगामी महिना दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर र दक्षिण कोरियाले सो खेलमा संयुक्त प्रतिष्पर्धा गर्ने सहमती भएपछि उत्तरका महिला खेलाडीहरु दक्षिण पुगेका हुन्। जसका लागि उनीहरुले संयुक्त रुपमा अभ्यास गर्ने छन्।
दुई कोरियाबीच यस्तो सहभागीता करिब तीन दशक यता पहिलो पटक भएको जनाइएको छ । यसका साथै लामो समयपछि यसरी उत्तर कोरियाली महिला अधिकारी पहिलो पटक दक्षिण कोरिया प्रवेश गरेका हुन्।
उत्तर कोरियाबाट आएका आइस हक्की खेल समूहका ती महिलालाई दक्षिण कोरियाको जिन्चेओनमा रहेको राष्ट्रिय आइस हक्की तालिम केन्द्रमा फुलको गुच्छा दिएर स्वागत गरिएको थियो ।
शीतकालीन ओलम्पिक खेलकूदले उत्तर कोरियाको आणविक सशस्त्र महत्वाकांक्षाको कारण उत्पन्न दुई कोरियाबीचको विगत लामो समयदेखिको शत्रुतापूर्ण सम्बन्धमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउन सुरु गरिसकेको बताइएको छ।
यस अघि पनि उत्तर कोरियाली सरकारी अधिकारीसहितको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगिसकेको थियो । खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न पनि उत्तरका अधिकारीहरु त्यहाँ गएका हुन्।
चार वर्षयता पहिलो पटक उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको यो नै पहिलो पटक भएको सोलबाट सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले संयुक्त झण्डामुनि मार्च गर्न पनि सहमति जनाइसकेका छन्। जसले गर्दा आगामी दिनमा यी दुई कोरियाबीचको सम्बन्धमा अहिलेको तुलनामा थप सुधार हुने विश्लेषकहरुको अनुमान छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।