काठमाडौं- चीनले हङकङलाई लिएर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बेलायतलाई चेतावनी दिएको छ।
शनिबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले पत्रकार सम्मेलन गरेर हङकङलाई लिएर जथाभाबी र भड्किला आरोप नलगाउन बेलायतलाई चेतावनी दिएकी हुन्। ‘म यो भन्न चाहन्छु कि हङकङ अहिले चीनको विशेष प्रशासनिक क्षेत्र हो,’ उनले भनिन्, ‘लामो समय बेलायती अपौनिवेशिक शासनको अधिनमा थियो।’
बेलायती विदेश मन्त्रालयका प्रवक्ताले बेलायती विदेशमन्त्री डोमेनिक रावले ९ अगस्टमा हङकङका विषयमा त्यहाँका प्रमुख कार्यकारी क्यारी लामसँग टेलिफोन गरेको बताएपछि चीनको यस्तो प्रतिक्रिया आएको हो।
प्रवक्ता छुनयिङले बेलायतलाई हङकङमाथि सम्प्रभूता, कार्यक्षेत्र र निरीक्षणको अधिकार नभएको स्पष्ट पारिन्।
उनले बेलायत सरकारले हङकङकी कार्यकारी प्रमुखलाई सिधै सम्पर्क गर्नु गलत भएको तर्क गरिन्। ‘बेलायत सरकाले हङकङकी कार्यकारी प्रमुखलाई सिधै सम्पर्क गर्नु समान्यतया गलत हो,’ उनले भनिन्।
सुपुर्दगीसम्बन्धी एउटा विधेयकलाई लिएर हङकङमा लामो समयदेखि विरोध प्रदर्शन चर्किएको छ।
उक्त विधेयकका आलोचकहरूले कानुनमा गरिने परिवर्तनपछि हत्या र बलात्कारजस्ता आपराधिक आरोप लागेका अभियुक्त आफूसमक्ष सुपुर्दगी गर्न चीन, ताइवान र मकाउका अधिकारीहरूले आग्रह गर्न सक्ने भन्दै विरोध गरिरहेका छन्।
हङकङका अधिकारीहरूले आन्दोलनकारीको मागअनुसार सुपुर्दगी गर्ने अनुमति दिने वा राजनीतिक वा धार्मिक अपराधका सन्दिग्धलाई सुपुर्दगी नगर्ने अन्तिम अधिकार हङकङको अदालतमा रहेको बताएका छन्।
सरकारले भने कम्तीमा ७ वर्षको जेल सजाय पाएर भागेकालाई मात्रै सुपुर्दगी गर्ने भन्दै सर्वसाधारणलाई आश्वस्त पार्न खोजेको छ।
गत वर्षको फेब्रुअरीमा हङकङका १९ वर्षीय युवामाथि ताइवानमा बिदा मनाउन सँगै गएकी आफ्नी २० वर्षीया गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगपछि कानुन संशोधनको उक्त प्रस्ताव आएको छ।
ती युवा ताइवानबाट भागेर हङकङ फर्किएका थिए। ताइवानका अधिकारीहरूले उनलाई सुपुर्दगी गर्न हङकङका अधिकारीहरूलाई आग्रह गरेका थिए।
तर, ताइवानसँगको सुपुर्दगी सम्झौताको अभावका कारण त्यसो गर्न नसकिने जवाफ हङकङका अधिकारीहरूको उठाएका थिए।
कुनै बेला बेलायतको उपनिवेश रहेको हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएयता ‘एक देश दुई प्रणाली’को सिद्धान्तअन्तर्गत अर्धस्वायत्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।