काठमाडौं - क्यानडामा भइरहेको ग्लोबल टी-२० क्रिकेटमा नेपालका बलर सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्स फाइनलमा पुगेको छ। दोस्रो क्वालिफायरमा हक्सले ब्राम्पटन वुल्भ्सलाई ७ विकेटले हराएको हो।
टस जितेर ब्याटिङ रोजेको वुल्भ्सले निर्धारित २० ओभरमा ७ विकेट जाँदा दुई सय रन बनाएको थियो। २ सय १ रनको लक्ष्य पछ्याएको हक्सले अन्तिम दुई ओभरमा २७ रन खाँचो थियो। हक्सले १९ औँ ओभरमा १४ रन र अन्तिम ओभरमा १३ रन बनाउँदै खेल जितेको हो।
हक्सका लागि जेपी डुमिनीले ३४ बलमा ५० रन र साइमन अन्वरले २३ बलमा ५२ रन बनाएका थिए।
सोमपाल कामी प्लेइङ ११ मा नभए पनि वैकल्पिक खेलाडीका रुपमा फिल्डिङमा आएका उनले एक महत्वपूर्ण क्याच लिएका थिए। १८ औँ ओभरको पाँचौँ बलमा साहिद अफ्रिदीको क्याच उनले लिएका हुन् । यसअघि एड्मोन्टन रोयल्सविरुद्ध खेलेका सोमपालले दुई ओभर बलिङ गरेर ३३ रन खर्चिएका थिए।
फाइनल खेल आइतबार राति हक्स र भ्यानकुभर नाइट्सबीच हुनेछ। भ्यानकुभरले पहिलो क्वालिफायरमा वुल्भ्सलाई ७७ रनले हराएर फाइनलमा पुगेको हो।
नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने पनि ग्लोबल टी-२० मा टोरन्टो नेशनल्सबाट खेलेका थिए । उनको टिम इलिमिनेटर खेलमा हक्ससँग नै पराजित भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।