काठमाडौं - स्पेनिस क्लब बार्सिलोनले नयाँ सिजनको तयारीका लागि खेलिएको खेलमा इटालियन क्लब नापोलीलाई ४-० ले हराएको छ। जितमा एथ्लेटिको मड्रिडबाट आएका स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले पनि क्लबका लागि पहिलो गोल गरे।
खेलको ४८ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको बार्सिलोनाका लागि ५६ औँ मिनेटमा ग्रिजम्यानले गोल गरेका थिए। त्यसका दुई मिनेटपछि नै स्वारेजले अर्को गोल थपे। ६३ औँ मिनेटमा उसमान डेम्बेलेले गरेको गोलसँगै बार्सिलोना ४-० ले विजयी भएको हो।
पहिलो हाफमा दुवै टिम गोलविहीन भए पनि दोस्रो हाफमा स्वारेज, ग्रिजम्यान र डेम्बेलेको तालमेल राम्रो रह्यो। मिडफिल्डमा फ्रान्की डी योङले पनि बल नियन्त्रणमा राख्न राम्रो खेल देखाएका थिए।
यसअघि बिहीबार भएको खेलमा बार्सिलोनाले नापोलीलाई २-१ ले हराएको थियो।
ला लिगाका खेल आउँदो शनिबारदेखि सुरु हुँदै छ। जसमा पहिलो खेल बार्सिलोनाले एथ्लेटिको बिल्बाओसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।