बनेपा- कृषि क्षेत्रमा पाउने पारिश्रमिक महिला तथा पुरुषलाई समान गर्न महिलाले माग गरेका छन्।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले काभ्रेपलाञ्चोकको उग्रचण्डीमा आयोजना गरेको शान्ति निर्माणका लागि संवाद कार्यक्रममा उनीहरुले सामाजिक संरचनाका कारण ज्यालामा एकरुपता नभएको औंल्याए।
उग्रचण्डीनालाकी भावना बजगार्इंले कृषि क्षेत्रमा पुरुष र महिलाले गर्ने काममा समानता भए पनि पारिश्रमिकमा विभेद भएको गुनासो गरे। उनले महिलालाई कृषिमा आधारित काममा ४ सय ८० रुपैयाँ मात्रै दिइए पनि पुरुषलाई भने ८ सय दिइने गरिएको भन्दै समान ज्यालाका लागि सबै महिला एक हुनुपर्ने बताए।
उग्रचण्डीनालाकै रमा थापाले कृषिमा सामाजिक विभेदका कारण असमान ज्याला रहेको उल्लेख गर्दै श्रमको उचित पारिश्रमिक अधिकारको विषय भएको बताए। बनेपा नगरपालिका– ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहालले नीतिगत तहबाट समान ज्याला निर्धारणको तयारी भएको जानकारी दिँदै ज्यालामा असमानता सबै क्षेत्रमा रहेको बताए।
कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै आएका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।