बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्न लागेको छ। संघीय सरकारले बेलाबेलामा लगानी सम्मेलन गर्दै आए पनि स्थानीय सरकारको रुपमा रहेको तिलोत्तमाले पहिलो पटक लगानी सम्मेलन गर्न लागेको हो।
आगामी असोज ९ गते गर्ने भनिएको लगानी सम्मेलनका लागि नगरपालिकाभित्र सञ्चालन गर्न १९ महत्वाकांक्षी परियोजना छनोट गरिएको छ।
नगरपालिकाले कृषि, उद्योग, शिक्षा, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउने योजना बनाएको छ। औद्योगिक ग्राम, एकीकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोर व्यवस्थापन, सिटी कलेज, बाल तथा महिला अस्पताल, एकीकृत ढाक्रेबास पर्यटकीय क्षेत्र, मासु प्रशोधन केन्द्र, प्रदेश ५ को प्रादेशिक बसपार्क, बिजनेस हब, रेलवे रिङ रोड, स्मार्ट हाटबजार (तीन वटा), एकीकृत दुग्ध संकलन तथा प्रशोधन केन्द्रमा लगानी भित्र्याउन सम्मेलन गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए।
प्रमुख घिमिरेले त्यसबाहेक स्मार्ट पार्किङ स्थल, स्मार्ट बाल उद्यान (तीन स्थानमा) रोहिणी जलाशय एकीकृत पर्यटकीय स्थल लगायत १९ परियोजना प्रस्तुत गर्ने तयारी गरिएको जानकारी दिए। त्यसबाहेक पनि लगानी सम्भावित परियोजनाहरु आएमा प्रस्तुत गरिने उनको भनाइ छ।
एकदिने लगानी सम्मेलनमा नेपालका राष्ट्रिय स्तरका २ सय र विदेशी ५० जना गरी २ सय ५० जना लगानीकर्ता सहभागी गराउने नगरपालिकाको अपेक्षा छ। नगरप्रमुख घिमिरेले उक्त लगानी सम्मेलनबाट २ अर्बधन्दा बढी लगानी भित्र्याउने अपेक्षा गरिएको जानकारी दिए। 'प्रस्तुत गरिने परियोजनाका बारेमा लगानीकर्तालाई जानकारी गराउने तथा तिलोत्तमाका निजी क्षेत्र र नेपाल तथा बाह्य मुलुकका निजी क्षेत्रबीच नेटवर्किङ विकास गराउने अर्को महत्वपूर्ण पाटो पनि छ,' उनले भने।
साबिकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलीगढ गरी ७ वटा गाबिस मिलेर २०७१ सालमा स्थापित तिलोत्तमाको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरिएको बताउँदै प्रमुख घिमिरेले सीमित बजेटका कारण निजी क्षेत्रको उपस्थितिलाई अझै व्यापाक बनाउन र विकास साझेदार बनाउन सम्मेलन गर्नुपरेको प्रस्ट पारे।
लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, एकद्वारा प्रणालीबाट सेवा प्रदान लगायतका विषयलाई समेटिने नगरपालिकाको योजना छ।
करिब ३० लाख रुपैयाँ खर्चानुमान गरिएको सम्मेलनका लागि चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको र बाँकी १० लाख निजी क्षेत्रबाट जुटाउने उनले जानकारी दिए।
प्रदेश ५ सरकारले पनि लगानी सम्मेलन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।