काठमाडौं – नेपालले ओमनमा हुने पाँच देश सम्मिलित टी-२० प्रतियोगिता खेल्ने भएको छ । टी-२० विश्वकपको एसियाली छनोटबाट नै बाहिरिसकेको भए पनि ग्लोबल छनोटको तयारीका लागि गर्न लागिएको प्रतियोगितामा नेपाल सामेल हुन लागेको हो ।
खेल अक्टोवर ५ देखि १० सम्म हुनेछ । प्रतियोगितामा नेपाल र ओमनसहित हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड्स सहभागी हुने छन् ।
ओमनले प्रतियोगिताको तयारी नेपालले टी–२० विश्वकपको एसियाली छनोट खेल्नु अघि नै गरेको थियो । नेपाल ग्लोबल छनोटमा पुग्न नसकेपछि खेल्ने या नखेल्ने एकीन भएको थिइन । तर आईसीसीले नेपाललाई सहभागी हुने अनुमति दिएसँगै नेपालले महत्वपूर्ण सिरिज खेल्न पाउने भएको हो ।
आन्तरिक विवादका कारण २०७३ वैशाखदेखि नेपाल क्रिकेट संघ (क्यान) प्रतिबन्धमा रहेकोले नेपाली क्रिकेटको सम्पूर्ण जिम्मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लिएर प्रतियोगिताहरुमा सामेल गराइरहेको छ ।
नेपालले आफ्नो पहिलो खेल अक्टोवर ६ मा हङकङसँग खेल्नेछ । दोस्रो खेल अक्टोवर ७ मा नेदरल्याण्ड्ससँग, तेस्रो खेल अक्टोवर ९ मा आयरल्याण्डसँग र चौथो खेल अक्टोवर १० मा ओमनसँग खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।