नयाँ दिल्ली- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीलाई शुक्रबार श्रीनगर विमानस्थलबाट नियन्त्रणमा लिइएको छ।
यसभन्दा अघि येचुरीले पार्टीको लेटरहेडमा जम्मु-कश्मीरका राज्यपाल सत्यपाल मलिकलाई लेखेको पत्र सामाजिक सञ्जाल ट्विटरमा सेयर गरेका थिए। यो पत्रमा उनले मलिकसँग आफू, भारतीय कम्युनिष्ट पार्टीका नेता (भाकपा) नेता डी राजा, माकपा नेता युसुफ तरीगामीसँग भेट गर्न जाने निश्चित भएको उल्लेख गरेका थिए।
उनले बिहान ९ः५५ मा इन्डियो एयरको उडानबाट श्रीनगरका लागि आउँदै गरेको उल्लेख गरेका थिए।
येचुरीले भङ्ग भइसकेको जम्मु–काश्मीर विधानसभाका विधायक तरीगामीका स्वास्थ्य ठिक नभएको बताएका थिए।
.jpg)
हल्लैहल्लाका बीच शुक्रबार मध्यान्नमा उनको पार्टीले येचुरीलाई सरकारले नियन्त्रणमा लिएको पुष्टि गरेको छ। उनलाई नियन्त्रणमा लिइनु गैरकानुनी भएकोसमेत माकपाले स्पष्ट पारेको छ।
तर, समाचार संस्था 'एएनआई'ले भने येचुरीलाई श्रीनगर विमानस्थलमा रोकिएको मात्रै उल्लेख गरेको छ। संविधानबाट जम्मू-काश्मीरलाई विशेष सुविधा दिँदै आएको अनुच्छेद ३७० हटाउनुभन्दा अघिल्लो दिनदेखि नै सो क्षेत्रमा सञ्चार सेवा पूर्णरुपमा बन्द गराइएको छ। गत आइतबारदेखि सो क्षेत्रमा कर्फ्यूसमेत लगाइएको छ।
आइतबार भारतीय कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादलाई पनि श्रीनगर विमानस्थलमा रोकिएको थियो। श्रीनगर उड्नुभन्दा अघि आजादले कश्मीरी जनतासँग सडकमा खाना खाँदै गरेको तस्विर सार्वजनिक गरेका अजित डोवलको चर्को आलोचना गरेका थिए। उनले पैसा दिएर जोसुकैलाई पनि साथ लिन सकिन्छ भनि टिप्पणी गरेका थिए।
सो क्षेत्रका अधिकारीले गएको ५ अगस्टबाट नै पूर्वमुख्यमन्त्री महबुबा मुफ्ती र उमर अब्दुल्लासहित ५ सयभन्दा धेरै स्थानीय नेतालाई घरमै नजरबन्द तथा रिहासतमा लिइएको छ।
श्रीनगर लोकसभाका सांसद एवम् नेसनल कन्फ्रेन्स प्रमुख फारुक अब्दुलाले पनि आफूलाई नजरबन्द गरिएको जनाएका थिए। तर, गृहमन्त्री अमित शाहले फारुकलाई नजरबन्द नगरिएको दाबी संसद्मा गरेका थिए। (मुख्य तस्बिर- पिटिआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।