काठमाडौं- दक्षिण कोरियाली कार निर्माता कम्पनी किया मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल्स ट्रेडिङले 'नाडा अटो शो-२०१९' मा निरो इलेक्ट्रिकलाई प्राथमिकता दिने भएको छ। यो कार केही समयअघि मात्र नेपाल भित्रिएको हो।
कम्पनीले यो वर्षको अटो शोमा निरोका साथै अल न्यू स्पोर्टेजलाई प्रदर्शनी गर्नेछ। किया निरोको माग बढेकोले उपभोक्तालाई उक्त कार उपलब्ध गराउन लागिपरेको कम्पनीले जनाएको छ।
नाडा अटो शोको यो संस्करणमा कियाका निरो र स्पोर्टेजलाई मुख्य प्राथमिकता दिने कन्टिनेन्टल्स ट्रेडिङका असिस्टेन्ट जनरल म्यानेजर अनिश लामिछानेले बताए। ‘कम्पनी नाडा अटो शोको तयारीमा जुटेका छ, यसपटक किया स्पोर्टेज र निरोलाई विशेष प्राथमिकता दिएर प्रदर्शनी गर्नेछौं,’ लामिछानेले भने।
कम्पनीले साउन पहिलो साताबाट बिक्री सुरु गरेको निरो अहिलेसम्म ६० उपभोक्तालाई उपलब्ध गराइसकेको जनाएको छ। किया सोललाई लामो समयसम्म बिक्रीका लागि राखिएको भए पनि एउटा मात्र बिक्री भएको थियो। तर, निरोको बिक्रीले निक्कै उत्साह थपेको कम्पनीको भनाइ छ।
किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ। यसमा रहेको १५० किलोवाटको इलेक्ट्रिक मोटरले २०१ बिएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ। यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति तय गर्न सक्ने दाबी कम्पनीको छ।
अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको यो इलेक्ट्रिक कारमा डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्नेछ। साथै, एकपटकको फुल चार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिनेछ।
किया स्पोर्टेजको ‘जिटी लाइन’ भेरियन्टलाई कम्पनीले १० महिनाअघि नेपाल भित्र्याएको थियो। किया स्पोर्टेज नेपाली बजारमा निक्कै अघिदेखि बिक्री हुँदै आएको छ।
किया स्पोर्टेज एसयुभी नेपाली बजारमा पेट्रोल र डिजल दुवै इन्जिन अप्सनमा उपलब्ध छ। २.० लिटरको सिआरडीआई डिजल इन्जिनमा रहेको स्पोर्टेज जिटी लाइनमा ८ स्पिडको अटोमेटिक ट्रास्मिसन दिइएको छ।
त्यस्तै २.० लिटरको पेट्रोल इन्जिन अप्सनमा उपलब्ध स्पोर्टेज ६-स्पिडको म्यानुयल ट्रास्मिसनसहित आएको छ।
फुल्ली लोडेड जिटी लाइनको नेपाली बजारमा मूल्य १ करोड १० लाख ९० हजार रुपैयाँ रहेको छ।
'नाडा अटो शो-२०१९' भदौ १० बाट काठमाडौंमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।