काठमाडौं - विश्वकप फुटबलको एसिया क्षेत्रीय छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेल नेपालले कुवेतमा नै खेल्ने पक्का भएको छ। कुवेत फुटबल संघसँगको सहमतिमा नेपाली मैदानमा हुनुपर्ने खेल दशरथ रंगशाला तयार नहुनाले कुवेतमा नै गराउने सहमति जुटेको हो।
पहिलो खेल कुवेतसँग कुवेतकै मैदानमा आगामी भदौ १९ गते हुने तय भएको हो। यसअघि घरेलु मैदानमा खेलिने खेल अवे गर्न नमिल्ने र दुवै खेल कुवेतमा नगर्न फिफाले पत्र पठाएको थियो। नेपालले कुवेतसँगको दोस्रो खेल भने दशरथ रंगशालामा नै खेल्नेछ। त्यसका लागि मंसिर ३ गते अगावै रंगशाला तयार पार्नुपर्ने चुनौती थपिएको छ।
‘हामीले कुवेतसँग कुराकानी गरेर नै पहिलो खेल उता गर्ने सहमति भएको हो। अब यसले तालिकामा केही हेरफेर भएको छ। नेपालको सुरुवातको तीन खेल अवे मैदानमा हुनेछ’ नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले भने।
योसँगै नेपालले आफ्नो चारवटै खेल घरेलु मैदानमा खेल्न बाटो खुलेको छ। छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन्।
एन्फाले सुरुदेखि नै चाइनिज ताइपेई, जोर्डन र कुवेतलाई नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल सार्न अनुरोध गरेको थियो। जोर्डन र कतार यसमा पहिलेदेखि सहमत रहेको र अहिले कुवेत पनि सहमत भएसँगै नेपालले चार खेल घरेलु मैदानमा खेल्ने बाटो खुलेको एन्फा प्रवक्ता राईले जानकारी दिए।
‘हामीले तय गरेअनुसार दशरथ रंगशाला भने तयार पारिसक्नु पर्नेछ। त्यसका लागि राखेपसँग हामीले नियमित कुराकानी गरिरहेका छौँ। यदि रंगशाला तयार नभए फेरि ‘न्युट्रल भेन्यू’ खोज्नुपर्ने हुन्छ’ राईले भने।
यो सहमतिले अस्ट्रेलिया र नेपालबीचको खेल तालिकामा भने कुनै परिवर्तन भएको छैन। परिवर्तन भएका बाँकी खेल तालिका अनुसार नेपालले चाइनिज ताइपेइसँग भदौ २४ गते चाइजिन ताइपेइमा नै खेल्नेछ। असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।
यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
गएको मंगलबार नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले अभ्यासमा रहेका ३६ खेलाडीबाट प्रारम्भिक टोलीमा ३१ खेलाडी छानेका छन्। खेलाडीहरु एन्फा कम्प्लेक्स मैदानमा नियमित अभ्यासमा रहेका छन्।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।