काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट निष्कासित नर्सहरुले न्याय पाएका छन्। केन्द्रबाट अन्यायपूर्वक निकालिएका नर्सहरु त्रजिना जति र सजना देउलालाई बुधबार पुनर्वहाली गरिएको हो।
उनीहरुलाई केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बुधबार साँझ करार नियुक्ति दिएका छन्। नियुक्ति दिँदै डा श्रेष्ठले अब मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
‘यसअघि जे-जस्तो भए पनि अब मिलेर अघि बढ्नुपर्छ। साथी जस्तो भएर काम गर्नुपर्छ’, डा श्रेष्ठको भनाइ उद्धृत गर्दै नियुक्ति प्रक्रियामा सहभागी नर्स दिया भण्डारीले बताइन्।
त्रजिना र सजनासँगै ‘सेसन बेस्ड’मा कार्यरत नर्स सपना देउलाले पनि करार नियुक्ति पाएकी छिन्। केन्द्रबाट अन्यायपूर्वक निकालिएपछि विगत ७ महिनादेखि उनीहरु संघर्षमा थिए। उनीहरुले केन्द्रको व्यवस्थापन, स्वास्थ्य मन्त्रालय गुहारे पनि न्याय नपाएपछि नेपाल नर्सिङ संघमा निवेदन दिएका थिए।
संघका साथै एन्टी करप्सन मुभमेन्ट नर्सिङ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, नर्सिङ क्षेत्रका अभियन्ताहरु र युवा नर्सहरु उनीहरुका पक्षमा लडेका थिए।
नर्सिङ संघको अगुवाइमा केन्द्रमा उनीहरुको पुनर्वहालीलाई पहिलो मागका रुपमा अघि सार्दै आन्दोलन भएको थियो। ९ दिनको आन्दोलनपछि स्वास्थ्य मन्त्रालयले वार्ताबाट समाधान खोजेको थियो।
मन्त्रालयले छानबिन गर्दा प्रक्रिया नपुर्याई निकालिएको पाएपछि पुनर्वहालीका लागि केन्द्र व्यवस्थापनलाई निर्देशन दिएको थियो। नर्सहरुले उठाएका ११ बुँदे मागमा सरकारी वार्ता टोलीले माघ ४ गते सहमति गरेको थियो।
सहमतिको २४ घन्टाभित्र नर्सहरुलाई पुनर्वहाली गर्ने सहमति भए पनि एक हप्तापछि मात्रै उनीहरुलाई पुनर्वहाली गरिएको हो।
नियुक्तिपछि सामूहिक तस्विर खिचाउँदै डा श्रेष्ठ, पुनर्वहाली भएका नर्स र नर्सिङ संघका पदाधिकारीहरु ।
उनीहरुलाई नियुक्ति दिलाउन संघका कार्यवाहक अध्यक्ष गंगा थापा, महासचिव लक्ष्मी केसी लगायतका पदाधिकारीहरु, युवा नर्सकी दुर्गा सापकोटा, विमला धमला, नर्सिङ क्षेत्रका अभियन्ताहरु जिता बराल, दिया भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष चन्द्र थापा, मानव अंगकी युनियन अध्यक्ष रुविता श्रेष्ठ सक्रिय रहँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।