काठमाडौं – क्यानडामा भइरहेको ग्लोबल टी-२० क्रिकेटमा नेपालका बलर सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्स क्वालिफायरमा पुगेको छ। हक्सले सन्दीप लामिछाने सम्मिलित टिम टोरन्टो नेशनल्सलाई दुई रनले हराएको हो।
टस जितेर विन्निपिगले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको टोरन्टोले निर्धारित २० ओभरमा पाँच विकेट जाँदा २ सय ३८ रन बनाएको थियो। विन्निपिगले १७ ओभर १ बलमा पाँच विकेट गुमाएर २ सय १ रन बनाउँदा मैदानमा प्रकाशको समस्याले खेल रोकिएको थियो। जसले गर्दा डिएल नियमका आधारमा विन्निपिग दुई रनले विजयी भएको हो।
टिम क्वालिफायरमा पुगे पनि सोमपाल प्लेइङ ११ मा भने थिएनन्। खेलमा चार ओभर बलिङ गरेका सन्दीपले ३४ रन खर्चेर दुई विकेट लिएका थिए।
विन्निपिगले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टिम ब्राम्पटोन वुल्भ्ससँग खेल्नेछ। गएराति नै भएको खेलमा भ्यानकुभर नाइट्सले वुल्भ्सलाई ७७ रनले हराएको थियो। शनिबार हुने दोस्रो क्वालिफायर खेलको विजेताले आइतबार भ्यानकुभरसँग फाइनल खेल खेल्नेछ।
प्रतियोगितामा चार खेल खेलेका सन्दीपले १ सय ३१ रन खर्चेर पाँच विकेट लिए। उनको इकोनोमी ८.७३ को रह्यो। यस्तै यसअघि एड्मोन्टन रोयल्सविरुद्ध खेलेका सोमपालले दुई ओभर बलिङ गरेर ३३ रन खर्चिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।