काठमाडौं- राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको संख्या अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रदेश १ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट १ र राप्रपाबाट १ गरी १२ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा तीन दलबाट उम्मेदवारी दर्ता गरेका तीन जना महिला निर्विरोध भएका छन्।
प्रदेश २ मा कांग्रेसबाट २ जना, एमाले र माओवादी केन्द्रबाट १/१ जना, संघीय समाजवादी फोरम र राजपाबाट २/२ जना र नेपाल संघीय समाजवादी पार्टीबाट १ गरी ९ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रदेश ३ मा कांग्रेसबाट ४, एमालेबाट ६, माओवादी केन्द्रबाट २, राप्रपाबाट १ र नेपाल मजदुर किसान पार्टीबाट ४ गरी १७ जनाले मनोनयन दर्ता गरेका छन्।
प्रदेश ४ मा कांग्रेसका ४, एमालेका ४, माओवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी १२ जनाको उम्मेदवारी परेको छ।
यस्तै, प्रदेश ५ मा कांग्रेसले ४, एमालेले ४, माओवादीले २ र राष्ट्रिय जनमोर्चाले १ गरी ११ जनाको उम्मेदवारी दर्ता गरेको छ।
प्रदेश ६ बाट कांग्रेसका ४, एमालेका ५, माओवादी केन्द्रका ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै, प्रदेश ७ मा कांग्रेसका ४, एमालेका ४, माओवादी केन्द्रका २ गरी १० जनाको उम्मेदवारी दर्ता भएको छ।
५६ सिटका लागि हुने निर्वाचनमा ८३ जनाको उम्मेदवारी पर्दा वाम गठबन्धनबाट एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेदवारी दिएको छ। मधेसकेन्द्रित दलबाट राजपाले २ र संघीय समाजवादी फोरमले २ सिटका लागि उम्मेदवारी दर्ता गरेको छ।
प्रत्येक प्रदेशमा कम्तीमा ३ महिलासहित ८ जना निर्वाचित हुनेछन्। ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिले ३ जना मनोनीत गर्ने प्रावधान छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ।
राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।