लुम्बिनी- भारतका विभिन्न स्थानमा नेटवर्किङ व्यवसायमा लगाइदिने भन्दै ठगी गर्ने समूहलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
नेपालका विभिन्न भागबाट भारत उक्त प्रदेशको गोरखपुर, कुशीनगर र बनारसमा स्थापना भएका नेटवर्किङ व्यवसायमा जागिर लगाइदिने भन्दै नेपाली युवायुवतीबाट पैसा असुल्ने तीन वटा कम्पनीमा काम गर्ने समूहलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो।
प्रहरीले पैसा असुल्ने लमजुङको दोर्दी गाउँपालिका– ५ का दर्पण लामा, दाङ लमही– ४ का कुशलराम चौधरी, धादिङ रोलाङ– ३ का ज्ञानेन्द्र मगर, काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका– ३ का चन्दित सिंह र बारा निजगढ– १२ का दावा लामालाई पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता डिल्लीनारायण पाण्डेले उनीहरुमाथि संगठित ठगी मुद्दा दायर गरेको बताए। उक्त समूहले विभिन्न व्यक्तिसँग आठ हजारदेखि तीन लाख रुपैयाँसम्म असुलेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ८० जनाले आफूहरुबाट लाखौं रकम असुलेको निवेदन दिएका थिए। प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट एक करोड ५२ लाख बिगो माग गरेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।