काठमाडौं– राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्तामा प्रदेश ५ बाट महिलाको ३ सिटमा ३ जनाको मात्र उम्मेदवारी परेपछि चुनाव अगाडि नै उनीहरु निर्विरोध निर्वाचित भएका छन्। तीन जनामध्ये चर्चित लोक गायिका कोमल वली पनि परेकी छिन्।
बुधबारको मनोनयन दर्तामा नेकपा एमालेबाट वली र मीना बुढा तथा नेपाली कांग्रेसबाट अनिता देवकोटाको मात्र उम्मेदवारी परेको हो। निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरुको विजयको घोषणा भने केही दिनपछि गर्नेछ। निर्विरोध निर्वाचित भएकी कोमल वलीलाई नेपाल लाइभका तीन प्रश्नः
राष्ट्रियसभामा निर्विरोध हुनुभएछ। के छन् तपाईंका भावी योजना?
राष्ट्रियसभाकी सदस्य हुन पाउँदा गौरव महसुस भएको छ। पार्टी (एमाले)ले मलाई उचित सम्मान र जिम्मेवारी प्रदान गरेको छ। मेरो क्षमताले भ्याएसम्म दिइएको जिम्मेवारीमा खरो उत्रिनेछु। आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्नेछु।
तपाईंलाई एमालेले राष्ट्रियसभाको उम्मेदवार बनाएपछि तपाईंमाथि निकै टीका-टिप्पणी र कटाक्ष गरियो। यसलाई कुन रुपमा लिनुभएको छ?
उहाँहरुले म र पार्टीप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको हो। यो एउटा संस्कृति पनि हो। मेरा लागि यी आलोचनात्मक टीका-टिप्पणी खबरदारी पनि हुन्। मैले यसलाई सकारात्मक रुपमा लिएकी छु। भविष्यमा पनि मप्रतिको चिन्ता र चासो यही रुपमा रहिरहोस् भन्ने चाहना छ।
पार्टीको निर्णयको आलोचना गर्नेमा एमालेकै नेता कार्यकर्ता पनि छन् नि !
मैले यो पद कसैसँग मागेको होइन। निवेदन हालेको पनि होइन। पार्टीको सम्मानित स्थायी समितिको बैठकले उपयुक्त ठानेर निर्णय गरेपछि स्वीकारेकी हुँ। एमालेकै नेता-कार्यकर्ता भएर आलोचना गर्नु त्यति राम्रो होइन। तर, व्यक्तिगत रुपमा यसलाई पनि सकारात्मक रुपमा लिएकी छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।