काठमाडौं- सार्वजनिक सवारीले नियम उल्लंघन गरे जरिवाना हुँदै आएको कुरा नौलो होइन। तर अब भने यात्रुले समेत जरिवाना तिर्नु पर्ने कानुन बन्ने भएको छ।
सरकारले संघीय संसद्मा पेश गरेको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७६’ भाडा तिर्न इन्कार गर्ने तथा भाडा नतिरी यात्रा गर्ने यात्रुलाई १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा उल्लेख छ।
प्राधिकरण ऐनको दफा १५ मा जरिवानासम्बन्धी व्यवस्था गरिएको छ। दफा १५ को उपदफा १ मा ऐनमा दण्डनीय व्यवस्था गरिएका कुनै कार्य गरेमा सम्बन्धित अधिकारीले १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ। प्रमुख कार्यकारी अधिकृत वा प्राधिकरणले तोकेको प्राधिकरणको कुनै अधिकृत कर्मचारी वा कम्पनीमा सहायक निरीक्षक दर्जाको ट्राफिक प्रहरीले जरिवाना गर्न सक्ने व्यवस्था ऐनमा छ।
ऐनको सोही दफाको उपदफा १ को ‘क' मा मा सार्वजनिक यातायातमा तोकेको भाडा नतिरी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गर्नेलाई कारबाही हुने व्यवस्था गरिएको छ। यसैगरी सोही उपदफाको 'ख' यात्रुसँग तोकिए बमोजिमको भाडा नउठाउने वा अनावश्यक सहुलियत दिने वा कम भाडा असुल गर्नेलाई समेत जरिवाना गरिने व्यवस्था छ।
त्यस्तै सोही उपदफाको 'ग' मा सार्वजनिक यातायातभित्र जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवसार गर्ने, सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने र सार्वजनिक यातायातमा क्षति पुर्याउने वा फोहर गर्ने वा सार्वजनिक सवारी साधनबाट सडकमा फोहर फाल्नेसम्मलाई उक्त जरिवाना लाग्ने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।