काठमाडौं - इटालियन क्लब इन्टर मिलानले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमलु लुकाकुलाई भित्र्याउन ८० मिलियन युरोमा सम्झौता गरेको छ।
प्रिमियर लिग ट्रान्सफर सिजनको अन्तिम दिन गरिएको सम्झौतामा मिलानले युभेन्टसलाई पछि पारेको हो। लुकाकुका भित्र्याउने प्रयासमा युभेन्टस पनि लागिरहेको थियो।
बुधबार मात्रै म्यानचेस्टर युनाइटेडले स्ट्राइकर लुकाकुलाई बिना जानकारी अभ्यासमा उपस्थित नभएको भन्दै जरिवाना लगाउने निर्णय गरेको थियो। घाइते भएका कारण युनाइटेडको प्रि सिजन खेलमा नरहेका लुकाकु पुरानो क्लब एन्डरलेच्टमा अभ्यास गरिरहका थिए।
बेल्जियन राष्ट्रिय टिमका २६ वर्षका लुकाकुले सोमबार र मंगलबार बेल्जियन क्लब एन्डरलेच्टमा नै अभ्यास गरे। सोमबार युनाइटेडमा अभ्यास नभए पनि मंगलबार भने युनाइटेडमा नै अभ्यास रहेको थियो।
अहिले सिरी ए क्लब इन्टर मिलान पुगेका लुकाकु २०११ मा चेल्सी आउनुअघि दुई वर्ष एन्डरलेच्टमा नै थिए। चेल्सीबाट २०१४ मा इभर्टन गएका लुकाकु २०१७ मा म्यानचेस्टर युनाइटेड गएका थिए। जहाँ उनले ९६ खेलमा ४२ गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।