काठमाडौं – क्यानडामा भइरहेको ग्लोबल टी-२० क्रिकेटमा सोमपाल कामी सम्मिलित टिम विन्निपिग हक्सले सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सविरुद्ध इलिमिनेटर खेलमा खेल्ने भएको छ ।
टोरन्टो नेशनल्सले बुधबार भएको दोस्रो चरणको खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले हराएको थियो । टोरन्टोले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको मोन्टरियल १ सय ५४ रन बनाउँदा अल आउट भएको थियो । खेलमा तीन ओभर बलिङ गरेका सन्दीपले २५ रन दिएर एक विकेट लिए ।
तालिकाको शीर्ष स्थानमा रहेको ब्राम्पटोन वुल्भ्स र दोस्रो स्थानमा रहेको भ्यानकुभर नाइट्सले पहिलो क्वालिफायर खेल बिहीबार राति सवा १० बजे खेल्ने छन् ।
तेस्रो स्थानमा रहेको सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल्सविरुद्ध चौथो स्थानमा रहेको सोमपाल कामी सम्मिलित विन्निपिग हक्सले बिहीबार राति सवा २ बजे इलिमिनेटर खेल खेल्ने छन् ।
जसमा विजेता टिमले पहिलो क्वालिफायरमा हार्ने टिमसँग शनिबार दोस्रो क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टिमले आइतबार फाइनल खेल खेल्ने छन् ।
प्रतियोगितामा तीन खेल खेलेका सन्दीपले ९७ रन खर्चेर तीन विकेट लिएका छन् । उनको इकोनोमी ८.८१ को रहेको छ । यस्तै एड्मोन्टन रोयल्सविरुद्ध खेलेका सोमपालले दुई ओभर बलिङ गरेर ३३ रन खर्चिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।