काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ) ले गोविन्द खत्री र सविना श्रेष्ठलाई आइटीएफ वर्ष खेलाडी-२०७५ बाट सम्मान गरेको छ । एपीएफ क्लबका गोविन्द र गुल्मीकी सविनाले ०७५ मा गरेको प्रदर्शनका आधारमा अवार्ड पाएका हुन् ।
गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आईटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए । सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो तथा सिंगापुरमा भएको आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।
उत्कृष्ट प्रशिक्षकमा नेपाल आर्मीका उमेश राजथला पुरस्कृत भए । उनकै प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।
यस्तै विजय श्रेष्ठले ‘आउट स्टेन्डिङ’ अवार्ड जिते । महासंघका उपाध्यक्ष समेत रहेका विजयले आईटीएफ तेक्वान्दोको विकास र विस्तारमा उल्लेखनिय योगदान पुर्याएकाले सो अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष अञ्जन धमलाले जनाएका छन् । यो विधा पहिलो पटक समावेश गरिएको हो । विजय प्रतियोगिता विभागका प्रमुख पनि हुन् ।
रोल्पा जिल्ला उत्कृष्ट संघ ठहरियो । वर्ष २०७५ मा उक्त जिल्लाले प्रदेश स्तरीय रेफ्री सेमिनार, प्रोफेसनल तेक्वान्दो प्रतियोगिता र प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । सो अवार्ड रोल्पा जिल्लाका अध्यक्ष विक्रम पाठा मगरले ग्रहण गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।