भारतीय पूर्व विदेशमन्त्री स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

नेपाल लाइभ | २०७६ श्रावण २३ बिहीबार | Thursday, August 08, 2019 ०७:३९:०० मा प्रकाशित

स्वराजलाई अन्तिम बिदाइ गर्दै पति कौशल, छोरी बान्सुरीलगायत।


काठमाडौं- भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको बुधबार अन्त्येष्टि गरिएको छ। मंगलबार साँझ उनलाई हृदयघात भएपछि नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मंगलबार राति निधन भएको थियो।

उनको पार्थीव शरीरलाई राजकीय सम्मानका साथ नयाँ दिल्लीको लोधी रोडस्थित विद्युत शवदाहगृहमा अन्त्येष्टि गरिएको थियो। स्वराजको अन्तिम बिदाइ पति स्वराज कौशल र छोरी बान्सुरी स्वराजले गरेका थिए। उनको पार्थिव शरीरमा भारतको राष्ट्रिय झन्डा ओडाउनुका साथै भारतीय सेनाको एक टुकुडीले सलामी अर्पण गरेको थियो।

सो क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणी, लोकसभाका सभामुख ओम बिडला, भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहसहित सत्तारुढ भाजपा, प्रतिपक्ष भारतीय कांग्रेसका नेता तथा विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

उनको सन् २०१६ को डिसेम्बरमा मृगौला प्रत्यारोपणसमेत गरिएको थियो। स्वास्थ्यकै कारण उनी गत लोकसभा निर्वाचनमा समेत प्रत्यक्ष उम्मेदवारको रुपमा सहभागी भएकी थिइनन्।

मन्त्री पदमा बहाल रहँदा भिसा, राहदानी तथा विभिन्न समस्यामा भारतभित्र तथा विदेशमा फसेका भारतीय नागरिकहरुलाई सहयोगका लागि तत्काल कदम चाल्ने मन्त्रीका रुपमा उनको प्रशंसा हुँदै आएको थियो।

सुष्मा स्वराज अब्बल क्षमता भएकी राष्ट्रवादी भारतीय राजनीतिज्ञ मानिन्छिन्। राम्रो वाककलाका कारण प्रसिद्धि पाएकी उनका नाममा भारतीय राजनीतिक धेरै रेकर्ड अंकित छन्।

कम उमेरमै मन्त्री। दिल्लीकी पहिलो महिला मुख्यमन्त्री। बिजेपीबाट मुख्यमन्त्री हुने पहिलो महिला नेतृ। पूर्णकालीन महिला विदेशमन्त्री। ७ पटक सांसद। उनले भारतीय राजनीतिमा दर्ज गरेर गएका रेकर्ड हुन् यी।